पत्रकार सुवेदीलाई धम्क्याएको भन्दै पत्रकार महासंघकाे ध्यानाकर्षण
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्विटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएकाे हाे।
काठमाडाैं, असाेज ७ : समाचारको विषयलाई लिएर पत्रकार विनु सुवेदीलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्विटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएकाे हाे।
‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छन् भनी एमाले कार्यकर्ताबाट गरेको ट्विटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता भए पनि अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम भएको महासंघको भनाइ छ।
महासंघ यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। पत्रकार सुवेदी अनलाइन खबरमा कार्यरत छन्।











