Kathmandu Press

सिन्धुलीको मरिणमा विवाह नगरी स्नातक गर्ने छोरीलाई एक लाख

महिलालाई शिक्षित बनाई आत्मनिर्भरतर्फ उन्मुख गराउन पालिकाले यस्तो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताए।
सिन्धुलीको मरिणमा विवाह नगरी स्नातक गर्ने छोरीलाई एक लाख

काठमाडौं, असोज ७ : सिन्धुलीको मरिण गाउँपालिकाले बालविवाह रोक्न तथा छोरीलाई उच्च शिक्षामा प्रोत्साहित गर्न स्नातक पास गर्ने छोरीलाई एक लाख रुपैयाँ दिने व्यवस्था गरेको छ।

महिलालाई शिक्षित बनाई आत्मनिर्भरतर्फ उन्मुख गराउन पालिकाले यस्तो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताए। ‘विवाह नगरी स्नातक पास गरे एक लाख रुपैयाँ दिन्छौं,’ उनले भने, ‘स्नातक पास गर्ने उमेर पुग्दा महिला परिपक्व हुने र आफ्ना निर्णय गर्न सक्ने हुन्छन्। यसबाट समाजलाई सचेत र सुसंस्कृत गराउन मद्दत पुग्छ ।’ 

आफ्नो पालिकामा बालविवाह बढ्न थालेपछि नगद दिएर त्यसलाई नियन्त्रण गर्ने योजन ल्याइएको अध्यक्ष मुक्तानको भनाइ छ । ‘विवाहपछि छोरीहरूले पढ्ने अवसर नपाउन सक्छन्। पढाइ नहुँदा उनीहरूको भविष्य बिग्रन सक्छ। कम उमेरमै विवाह गर्नेहरू धेरै देखिन थालेपछि अशिक्षित पालिका हुने डर देखियो,’ अध्यक्ष मुक्तानले भने, ‘महिला आत्मनिर्भर बनून् र शिक्षाप्रति उनीहरूकाे लगाव बढाेस् भनेर गत असारमा सम्पन्न कार्यपालिका बैठकमा यस्तो निर्णय गरेका हाैं।’ 

उक्त निर्णय कार्यान्वयनको चरणमा आइपुगेको उनले बताए। ‘पालिकाभित्रका छात्राको तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने, ‘२०७९ सालमा स्नातक गरेका तर विवाह नगरेका छोरीहरूले समेत नगद पाउनेछन्।’

एसइई सकिनेबित्तिकै कक्षा ११ र १२ को अध्ययन निरन्तरताका लागि गाउँपालिकाले छात्रालाई साइकल दिने कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ। उक्त कार्यक्रमकै कारण कक्षा ११ र १२ को अध्ययनममा रुचि देखाउन थालेपछि उनीहरूलाई स्नातकसम्म पुर्‍याउन एक लाख रुपैयाँ दिने योजना बनाइएको अध्यक्ष मुक्तानले बताए। ‘बालविवाह रोक्नु र उच्च शिक्षासम्म महिलाको पहुँच पुर्‍याउनु हाम्रो उद्देश्य हो,’ उनले भने। 

स्नातकसम्म अध्ययन गर्न पालिकाभित्रै क्याम्पस रहेको पनि उनले जानकारी दिए । ‘अन्य पालिकामा गएर स्नातक गरे पनि हुन्छ तर हाम्रो नगरवासी नै हुनुपर्‍यो,’ उनले भने।
 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्