प्रतिनिधिसभाकाे कार्यकाल सकिएसँगै सभामुख र उपसभामुखकाे पद पनि गइसक्याे : एमाले सचिव भट्टराई
समानुपातिक सांसदका उम्मेदवारको मनोनयनलगत्तै सभामुख र उपसभामुख पद पनि जाने उनको भनाइ थियो।
नेपालगन्ज, असाेज ७ : एमाले सचिव योगेश भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँगै उपसभामुख पम्फा भुसालको पद गइसकेकाले झन्डावाल गाडीमा हिँड्नु गलत भएकाे बताएका छन्।
नेपालगन्जमा आज (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले असोज १ गते मध्यराति नै सबै सांसदसँगसँगै सभामुखको पनि पद गइसकेकाले पुरानै हैसियतमा हिँड्नु लज्जास्पद भएको बताए। समानुपातिक सांसदका उम्मेदवारको मनोनयनलगत्तै सभामुख र उपसभामुख पद पनि जाने उनको भनाइ थियो।
‘हाम्रो पद जाँदा उहाँको कसरी हुन्छ? असोज १ गते राति १२ बजेसम्म उहाँ सभामुख हुनुहुन्थ्यो। म सांसद थिएँ। प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन भइसक्यो। अब उहाँहरू पनि सभामुख र उपसभामुख रहनुभएन,’ उनले भने।
असोज २ यता सभामुखको हैसियतमा भएका पत्राचार, वक्तव्य र संविधान दिवसमा भाग लिने कुनै अधिकार उनीहरूसँग नभएको भट्टराईको तर्क थियो।











