Kathmandu Press

कम्युनिस्ट आन्दोलनमा किसान आन्दोलनको भूमिका ऐतिहासिक : प्रचण्ड 

कम्युनिस्ट आन्दोलनमा किसान आन्दोलनको भूमिका ऐतिहासिक : प्रचण्ड 

काठमाडौं, असोज ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन किसान आन्दोलनको भूमिका ऐतिहासिक रहेको बताएका छन् ।  

पार्टीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को काठमाडौंमा सुरु भएको तेस्रो राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले देशमा कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न किसान आन्दोलनको भूमिका र योगदान ऐतिहासिक रहेको बताएका हुन्। 

‘००६ सालमा कम्युनिस्ट पार्टी गठन भएपछि कम्युनिस्ट पार्टीहरुले सञ्चालन गर्ने आन्दोलन किसान आन्दोलनकै रुपमा अगाडि आएर ऐतिहासिक रुपले स्थापित पनि छन्,’ प्रचण्डले भने, ‘ती आन्दोलन इतिहासको ठुला अक्षरमा कहिल्यै नमेटिने गरी लेखिएका छन् ।’

कार्यक्रममा प्रचण्डले २००७, ००८, ००९ सालतिर भएका किसान आन्दोलनको पनि स्मरण गरे । ती आन्दोलनले नेपालमा कम्युनिस्ट आन्दोलनलाई स्थापित र अगाडि बढाउन निकै ठुलो योगदान गरेको उनले बताए। ‘सामन्त जमिनदारहरुको विरुद्ध किसानहरुले गरेका विद्रोहले पूरै तराई मधेशदेखि पहाड हिमालसम्म पनि किसान आन्दोलनको भूमिकालाई स्थापित गर्न, कम्युनिस्ट आन्दोलनलाई विस्तार र सुदृढ गर्न ऐतिहासिक भूमिका खेल्यो,’ उनले भने।  

प्रचण्डले कम्युनिस्ट आन्दोलन मात्र नभई ठुलाठुला राजनीतिक परिवर्तनमा पनि किसान आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताए । ‘०३५/०३६ सालको ऐतिहासिक जनआन्दोलन, दस वर्षे जनआन्दोलन, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन, जनजाति, मुस्लिम, दलित, मुस्लिम, सबै उत्पीडित जनताको आन्दोलन भनेको पनि अन्ततः किसानहरुकै आन्दोलन हो,’ उनले भने। 

अध्यक्ष प्रचण्डले अब समाजवादको दिशातिर निजी, सहकारी तथा सार्वजनिक क्षेत्रको सहयोगमार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने, उत्पादन वृद्धि गर्ने र समाजवादको आधार तयार पार्ने कुराहरुलाई व्यवहारिक स्वरुप दिने जिम्मेवारी पनि किसानहरुकै हातमा रहेको बताए। 
 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्