नेसन्स लिगः फ्रान्स, क्रोएसिया र बेल्ज्यिम विजयी
बिहीबार राति भएका खेलमा फ्रान्सले अस्ट्रियालाई २–०ले हराउँदा क्रोएसियाले डेनमार्कमाथि २–१ र बेल्जियमले वेल्सलाई पनि २–१ ले नै हरायो।
काठमाडाैं, असाेज ७ : युईएफए नेसनन्स लिग अन्तर्गत बिहीबार राति भएका खेलमा विश्वविजेता फ्रान्स, उपविजेता क्रोएसिया र बेल्जियम विजयी भएका छन्। खेलका फ्रान्सले अस्ट्रियालाई २–०ले हराउँदा क्रोएसियाले डेनमार्कमाथि २–१ र बेल्जियमले वेल्सलाई पनि २–१ ले नै हरायो।
समूह १ मा फ्रान्सलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा केलियन एमबाप्पे र ओलिभर जिरूडको गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
५६ औं मिनेटमा एम्बाप्पेको गोलबाट फ्रान्सले सुरूआती अग्रता लियो। उनले जिरूडको पासमा गोल गरेका थिए। ६५औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा जिरूडले गोल गर्दै फ्रान्सलाई जित दिलाए।
यही समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कमाथि २–१को जित निकाल्यो । घरेलु मैदानमा क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले गोल गर्दा डेनमार्कका क्रिस्टियन एरिक्सनले गोल गरे।
पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा बोरना सोसाले ४९औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। ७७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले डेनमार्कका लागि बराबरी गोल फर्काए।
खेल बराबरीमा आएको २ मिनेटपछि नै क्रोएसियाले पुनः खेलमा अग्रता लियो । ७९औं मिनेटमा माजेरले क्रोएसियाका लागि गोल गरे। त्यसपछि गोल नहुँदा क्रोएसिया विजयी भयो।
यसैगरी अर्को खेलमा मिची बात्सुइ र केभिन डे ब्रुयनले गोल गरेपछि बेल्जियमले बेल्सलाई २–१ले हरायो । खेलमा बेल्सका केइफर मुरेले गोल गरेका थिए । यस्तै, नेदरल्यान्ड्सले पोल्यान्डमाथि २–०को जित निकालेको छ। उसको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले् गोल गरे।
डेनमार्कविरुद्धको जितसँगै क्रोएसिया समूह १ को शीर्ष स्थानमा उक्लिएको छ। उसले ५ खेलमा १० अंक जोडेको छ। क्रोएसिया ९ अंकसहित दोस्रो स्थानमा रहँदा ५ अंक जोडेको फ्रान्स तेस्रो र ४ अंक जोडेको अस्ट्रिया पुछारमा छ। समूह ४ मा १३ अंकका साथ नेदरल्यान्ड्स शीर्ष स्थानमा रहँदा १० अंकसहित बेल्जियम दोस्रो स्थानमा छ।











