Kathmandu Press

मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान

महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।
मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान

काठमाडौं, असोज ७ : महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।

महोत्तरीदेखि झापासम्मका दर्जनौं व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरुद्धले थुप्रै मानिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पूर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन् ।

भङ्गाहा–५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी भङ्गाहा–५ बस्ने अनिरुद्धसमेत भएको ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दाको सिलसिलामा निज प्रतिवादी अनिरुद्धलाई प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो ।

निज उपर उल्लिखित मुद्दामा आवश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि अनिरुद्धलाई जलेश्वर कारागारमा पठाइएको छ ।

प्रकाशित मिति: ०८:०२ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्