बैंक तथा वित्तिय संस्थाले आफूखुशी ब्याजदर बढाउँदा उत्पादन क्षेत्र समस्यामा : अर्थमन्त्री

काठमाडौं, असोज ६ : अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर उत्पादन क्षेत्रलाई बाधा पुगेको बताएका छन् ।
बिहीबार काठमाडौंमा पहिलो नाडा ईभी एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंकले निक्षेपमा १३/१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा पुगेको बताए।
ब्याज कै कारण पैसा बैंकमा राख्ने कामले उत्पादनशिल काममा लगानी हुन नसकेको उनको भनाई छ। उनले बैंकका प्रतिनिधि, उद्योगी र अर्थ मन्त्रालय माताहतका निकायलाई समेत राखेर यसको बारेमा छिटै छलफल गरेर निष्कर्ष निकाल्ने धारणा राखे।
उनले अर्थतन्त्रलाई बलियो बनाउन आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउनतर्फ सबै लाग्नुपर्ने बताए। अर्थमन्त्री जनार्दन ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए। उनले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने समेत स्पष्ट पारे।
अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको उल्लेख गरे । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिदै उनले पेट्रोलियम पदार्थ खरिदका लागि खर्च हुने रकमलाई न्युनिकरण गर्नुपर्ने बताए।











