यू–२० टिमका खेलाडी काठमाडौंमा अलपत्र, एन्फा भन्छ– कोही अलपत्र परेका छैनन्

काठमाडौं, असोज ६ : बहराइनमा भएको एएफसी यू–२० एसियन कप छनोट खेलर सोमबार काठमाडौं फर्किएका नेपाली खेलाडी अलपत्र परेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यवस्थापकी कमजोरीका कारण यू–२० टिमका केही सदस्य काठमाडौंमा अलपत्र परेका हुन्।
छनोट खेलेर सोमबार राति काठमाडौं फर्किएका खेलाडीलाई एन्फाले भत्ता नदिँदा उनीहरु बाटो खर्च अभावमा काठमाडौंमै अलपत्र परेको बताउँछन्। ‘नजिकका साथीहरु घर गए, तर टाढाका साथीहरू जान पाएका छैनन्, घर जान खर्च छैन । साथी र आफन्तको शरण लिन बाध्य छौं,’ एक खेलाडीले भने।
उनीहरुले एन्फासँग कि भत्ता दिन कि आफूहरुलाई घर पठाउने व्यवस्था गर्न माग गरेका छन्। ‘एन्फाले भत्ता दिएको छैन, होटलम बस्ने व्यवस्था पनि गर्दैन। पैसा नभएपछि घर जाने अवस्था छैन’ ती खेलाडीले भने, ‘म साथीको साँघुरो कोठामा बसिरहेको छु । अरु साथीहरु पनि आफन्त खोज्दै थिए । एन्फाले घरको न घाटको बनायो ।’
बहराइनबाट फर्केपछि सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलबाट नजिकका खेलाडीहरू आ–आफ्ना घर गए। टाढाका खेलाडीलाई भने एन्फाले एन्फा होस्टलमा पठाएका थिए। तर, मंगलबार बिहानै होस्टलका कर्मचारीहरूले होस्टल छोड्न दबाब दिएका थिए । पछि टिमका व्यवस्थापक दीवाकर घलेले कुरा गरेपछि उनीहरुलाई मंगलबारसम्म बस्न दिइयो । उनीहरूलाई बुधबार बिहानै होस्टलबाट निकालिएको ती खेलाडीले बताए।
एन्फा महासचिव किरण राईले कुनै खेलाडी अलपत्र नपरेको बताए । ‘केही समाचार आएका छन्, तर त्यो सत्य होइन । लुपहोल खोज्न तिर नलागौं । कोही अलपत्र परेका छैनन्,’ उनले काठमाडौं प्रेससँग भने।
यता, एन्फा प्रवक्त सुरेश साहले होस्टलमा अन्य खेलाडी बस्नु पर्ने भएकाले यू–२० टिम फर्किएको दुई दिनपछि होस्टलबाट निकालिएको बताए । साहले खेलाडीको भत्ता वापतको पैसा पनि आउने प्रक्रियामा रहेको बताए । ‘भत्ता आउने प्रक्रियामा छ, दुई दिनभित्र खेलाडीले पैसा पाउँछन्,’ उनले भने ।











