राष्ट्रपतिको विरोध गर्नुलाई नै गठबन्धनले महानता ठानेको छ : ओली

काठमाडौं, असोज २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई नै महानता ठानेको आरोप लगाएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा गठबन्धनले राष्ट्रपतिको आलोचना गर्नुलाई महान ठानेको बताएका हुन् ।
उनले गठबन्धनले राष्ट्रपतिको अपमान गरेको बताए । नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा गठबन्धनले जस्ताको तस्तै पारित गर्नु ठिक नभएको पनि अोलीले बताए ।
‘राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने ? उहाँहरूको त्यस्तो विचार छ । बाहिर बसेर, अनाडी मान्छे भेला भएर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक संस्कारको निर्लज्ज प्रयोग यो गठबन्धनले गरिरहेको छ । यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नु ठानेको छ,’ उनले भने ।











