बसको ठक्करबाट विद्यालय हिँडेका बालकको मृत्यु, गजुरी तनावग्रस्त
बिहीबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले स्थानीय आदर्श माध्यमिक विद्यालयमा पढ्ने एक बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हाे।
काठमाडौं, असोज ६ : धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बिहीबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले स्थानीय आदर्श माध्यमिक विद्यालयमा पढ्ने एक बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी यम बहादुर खत्रीले जानकारी दिएको छ ।
बिहाने साढे ९ बजेको समयमा विद्यालय जान बाटो क्रस गर्दै गर्दा बसले ठक्कर दिएको गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिइन् ।
स्थानीयका अनुसार बालकलाई जेब्राक्रसिङमै बसले ठक्कर दिएको हो । बसको ठक्करबाट बालकको मृत्यु भएपछि गजुरीका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । ठूलो संख्यामा सडकमा उत्रिएका स्थानीयले बालकलाई ठक्कर दिने बस जलाएका छन्।

प्रदर्शनका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।आन्दोलनलाई नियन्त्रणमा लिन घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।











