कपन आगलागीमा तीन जनाको मृत्यु
काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौं, असोज ६ : काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा अबेर राति नियन्त्रणमा लिइएको बताए।
आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको छैन। आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोली घटनास्थलमै रहेको छ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए।











