‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि बाेर्डद्वारा प्रदर्शन अनुमति
विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुन लागेकाे जनाइएको छ।
काठमाडाैं, असाेज ५ : फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करणले पनि बाेर्डबाट प्रदर्शन अनुमति पाएको छ।
चलचित्र विकास बोर्डले हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएकाले अब नेपाली हलहरुमा उक्त फिल्म प्रदर्शन हुनेछ।
आउने शुक्रबार नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी संस्करणमा यो फिल्म रिलिज हुँदैछ।
नेपाली संस्करणको सेन्सर पास भए पनि विवादका कारण हिन्दीको सेन्सर रोकिएको थियो। वितरक र निर्माताले रिलिजका लागि प्रक्रिया पूरा गरेपछि चलचित्र जाँचका लागि अनुमति दिएको बोर्डले जनाएकाे छ।
विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुन लागेकाे जनाइएको छ। निर्माण पक्षले हिन्दीलाई पनि नेपालीसरह सेवासुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएको थियो।
सन्तोष सेनले निर्माण गरेको चलचित्र प्रेमगीत ३ लाई लिएर नाम चलेका कलाकारहरु अहिले एकअर्काविरुद्ध उभिएका थिए। जसले गर्दा नेपाली चलचित्र क्षेत्र तरंगित बनेको थियो।












