अस्कर अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं, असोज ३ : अमेरिकामा हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ । अर्को वर्ष हुने अमेरिकामा ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको सोमबारको बैठकले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो । समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता लगायत पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो सालको ओस्कार अवार्ड मार्च १२ मा लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न हुनेछ ।












