महिला क्रिकेटमा नेपाललाई कास्य पदक
पोखरा, मंसिर २१ : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
शनिबार पोखरामा कास्य प....
पोखरा, मंसिर २१ : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
शनिबार पोखरामा कास्य पदकका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो।
टस जितेर पहिला ब्याटिङ थालेको माल्दिभ्सले ११ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर आठ रनको योगफल तयार पारेको थियो। माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा अञ्जली चन्दले आफ्नो चार ओभर बलिङ गरेर एक रन खर्चेर चार विकेट लिएकी थिइन्।
९ रनको झिनो लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरको दोस्रो बलमै लक्ष्य भेट्टायो।
नेपालका लागि रोमा थापाले पाँच तथा काजल श्रेष्ठले दुई रन जोडिन्। बाँकी दुई रन भने वाइडमार्फत प्राप्त भएको थियो। नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले स्वर्णको लक्ष्य पूरा नभए पनि खेलाडीहरुले राम्रो क्रिकेट खेलेको बताए।
नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले प्रतियोगिताबाट सिक्ने अवसर मिलेको र आउने दिनमा गल्ती कमजोरी सुधार्ने बताइन्।
सागको महिला क्रिकेटको स्वर्ण पदकका लागि आइतबार श्रीलंका र बङ्गलादेशबीच स्पर्धा हुनेछ। प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी चार राष्ट्रले सहभागिता जनाएका थिए।





