Kathmandu Press

सय घन्टा उड्नु पर्ने विमान आधा पनि उडेनन्, बसेरै १० लाख तलब खाँदै पाइलट

काठमाडौं, मंसिर २० : नेपाल वायुसेवा निगमले प्रयाप्त आन्तरिक उडान नगर्दा पाइलटहरू बसेरै तलब खाँदै छन्।

वायुसेवा निगमले आन्तरिक उडानका लागि ट्....

सय घन्टा उड्नु पर्ने विमान आधा पनि उडेनन्, बसेरै १० लाख तलब खाँदै पाइलट

काठमाडौं, मंसिर २० : नेपाल वायुसेवा निगमले प्रयाप्त आन्तरिक उडान नगर्दा पाइलटहरू बसेरै तलब खाँदै छन्।

वायुसेवा निगमले आन्तरिक उडानका लागि ट्विन अटर विमान प्रयोग गर्दै आएको छ। तर, निगमसँग भएका विमानको उचित प्रयोग नहुँदा प्रयाप्त मात्रामा उड्न सकेका छैनन्।

ट्विन अटर विमान उडाउन अहिले प्रयाप्त पाइलट छन्। निगमले करारमा पाइलट नियुक्त गरेको छ। तर, क्षमताअनुसार, आन्तरिक उडान हुन नसकेको निगम स्रोतले जनाएको छ।

Hardik ivf

जसले गर्दा निमगका पाइलटले प्रयाप्तमात्रामा आन्तरिक उडान गर्न पाएका छैनन भने निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्कनै धेरै तिर्नुपरिरहेको छ। यससँगै आन्तरिक उडान पनि नियमित हुन सकेको छैन।

निगमका अपरेसन डाइरेक्टर दिपु जुहार्जन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने एयर ट्राफिक जामका कारण उडान सेडुल तलमाथि हुने गरेको दाबी गरे। ‘दुर्गम भेगमा उडान गर्दा समयमै मौषम नखुल्ने, विमानस्थलको एयरट्राफिक जामलगायतका कारण क्षमता हुँदा समेत उडान भर्न नसकेको हो,’ उनले भने, ‘दुर्गम भेग भएकै कारण विभिन्न समस्या हुँदा ट्विन अटरले क्षमताअनुसार, उडान भर्न नसकेको हो।’

त्यसमाथि, विमानस्थलमा भएका निश्चित ‘पार्किङ–वे’ निगमकै विमानले नै ओगट्ने गरेका छन्। निगमका विमान पार्किङमै बढि समय रहने भएकाले व्यवस्थापन समेत समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

निगमका सह–प्रवक्ता सुलेश मिश्रका अनुसार, ट्विन अटरले काठमाडौं र नेपालगञ्जलाई आधार बनाएर उडान गर्दै आएको छ। अहिले फाप्लु, ताप्लेजुङ, भोजपुर, थामखर्क, रुमजाटार, लामिडाँडा, चौरखर्क, दाङ, रुकुम र चौरखर्कमा उडान गर्दै आएको छ।

त्यस्तै नेपालगञ्जबाट रुकुम, ताल्चा, सिमिकोट, साँफेबगर, डोल्पा, जुम्ला, बाजुरा र चौरखर्कमा उडान गर्दै आएको छ।

दुई विमानले सातामा ५६ वटा मात्रै उडान गर्दै आएका छन्। जसमा नेपालगञ्जवाट सातामा २४ वटा र काठमाडौंबाट सातामा ३२ वटा उडान हुँदै आएका छन्।

महिनामा कति घन्टा उड्छ्न जहाज?

आन्तरिक उडानमा ट्वीन अटर विमानले महिनामा ८० देखि एक सय घन्टा उडान गर्न सक्छ। तर, निगमका दुइटा ट्विन अटर विमान र चार जना पाइलट महिनामा ४५ घन्टा मात्रै उडान गर्दै आएका छन्।

ट्विन अटर विमानका लागि निगमले चार पाईलट र पाँच को–पाईलट राखेको छ। उनीहरुमध्ये तीन जनाले मासिक १० लाख रुपैयाँ सेवासुविधा लिँदै आएका छन्।

निगम स्रोतका अनुसार, निजी विमान कम्पनीमा उडान घन्टाका आधारमा सेवासुविधा लिँदै आएका पाईलट निगममा भने मासिक ४५ घन्टा उडान गरेर महंगो तलब लिने गरेका छन्।

निगमले व्यवस्थापन गर्न नसक्दा नै पाईलट र विमानले प्रयाप्त समय उडान गर्न नपाएको जनाएको छ। जसले गर्दा निगमको आन्तरिक उडान अस्तव्यस्त हुने गरेको छ। समयमा उडान नहुने, ढिला हुने र रद्द गर्नुपर्नेमा यो पनि एउटा कारण हो।

त्यस्तै, ‘फुल अकुपेन्सी’ हुने पर्यटकीय गन्तव्य तथा दुर्गम क्षेत्रमा पनि निगमले उडान बन्द गरेको छ। जसले गर्दा पनि विमानले प्रयाप्त उडान गर्न पाएका छैनन्।

निगमले उडान गन्तव्य र संख्या बृद्धि गर्न नसक्दा दुर्गम भेगमा नागरिकले सुलभ हवाइसेवा पाउन सकेका छैनन्। निगमले आन्तरिक उडान गर्दै आएको क्षेत्रमा समेत नियमित नहुँदा निजी कम्पनीको महंगो भाटा तिर्नुपर्ने बाध्यता छ।

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, मंसिर २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्