नारायण गोपाल निवासमा ‘गीत–गङ्गा’
काठमाडौं, मंसिर २० : स्वर सम्राट नारायण गोपालको निवासमा ‘गीत–गङ्गा’ भवन शीलान्यास गरिएको छ। उनको स्मृति दिवसमा भवनको शीलान्यास गरिएक....

काठमाडौं, मंसिर २० : स्वर सम्राट नारायण गोपालको निवासमा ‘गीत–गङ्गा’ भवन शीलान्यास गरिएको छ। उनको स्मृति दिवसमा भवनको शीलान्यास गरिएको हो।
शीलान्यास कार्यक्रममा सर्जकहरूले नारायण गोपालको स्मरण गरेका छन्। राष्ट्रिय नाचघरमा साँगीतिक कार्यक्रम गर्न भेटघाट भएको प्रसंग स्मरण गर्दै वरिष्ठ संगीतकार एवं गीतकार जगतमर्दन थापाले भने, ‘म प्रशासनको कामतिर लागेँ, उहाँ साँगीतिक माटोमै हुनुहुन्थ्यो। भेटघाट पात्लिएको थियो, तर एकै पटक दुःखदायी खबर सुनेँ, निःशब्द बनेँ।’
उनले नारायण गोपाललाई श्रद्धाञ्जली दिन ठूलो जनमानस उर्लिएको बताए। ‘त्यत्ति विशाल जनमानस मेरो जीवनकालमा देखेको छैन, उहाँ र लक्ष्मीप्रसाद देवकोटा मात्र हो,’ उनले भने।
नारायण गोपालको सम्मानमा बन्न लागेको गीत–गङ्गा भवनले कला र साहित्यलाई सम्मान दिने उनको विश्वास थियो। कोषका महासचिव दीपक केसीले नेपाली कलाकारका सिर्जनालाई अन्तर्राष्ट्रिय जगतमा गीत–गङ्गा भवनमार्फत परिचय गराउन मद्दत मिल्ने बताए। भवनको कोषकी अध्यक्ष उषा शेरचनले चाँडै भवन तयार हुने बताइन्।
कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले देशको कला, संस्कृति र साहित्यको संरक्षणमा स्थानीय सरकार लाग्ने बताए।
कार्यक्रममा वरिष्ठ संगीतकार जगतमर्दन थापा र वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई पुरस्कृत गरिएको थियो। दुवै जनालाई जनही २५ हजार रुपियाँ नगद पुस्कार प्रदान गरेको हो। नारायण गोपाल अक्षय कोषले २०५६ देखि नारायण गोपाल स्मृति दिवसमा स्रष्टालाई सम्मान गर्दै आएको छ।
कार्यक्रममा नारायण गोपालका कालजयी गीत प्रस्तुत गरिएको थियो।












