Kathmandu Press

बन्द रहेका सीमा नाका खोलिदिन अध्यक्ष तिमिल्सिनाको चिनियाँ पक्षलाई आग्रह

काठमाडाैं, भदाै २८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहनुभएका...
बन्द रहेका सीमा नाका खोलिदिन अध्यक्ष तिमिल्सिनाको चिनियाँ पक्षलाई आग्रह

काठमाडाैं, भदाै २८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चान्शुलाई आग्रह गरेका छन्।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौँ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनः सञ्चालनका लागि आग्रह गर्नुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

सो अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशकाबीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो।

आगामी दिनमा आपसीहितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो। राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीको स्मरण गर्नुहुँदै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताएका थिए।

उनले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए। यस्तै उनले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाए।

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीले अध्यक्ष तिमिल्सिनाले उठाएकाे विषयको समर्थन गर्दै सीमा नाकामा देखिएको अवरोध खोल्नेलगायत अन्य काममा सहजीकरण गरिने आश्वासन दिएका थिए।
 
दुईपक्षीय वार्ता करिब एक घण्टा चलेको जानकारी दिँदै संघीय संसद् सचिवालयका प्रवक्ता डा. पाण्डेले त्यस अवसरमा आपसी छलफलका क्रममा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदानप्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवैतर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो। सचिवालयले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमण उपलब्धिमूलक र सुखद रहने अपेक्षासमेत गरेको थियो।

दुईपक्षीय वार्तामा राष्ट्रियसभाको प्रतिनिधिमण्डलको तर्फबाट अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेका थिए भने चिनियाँ पक्षबाट राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो।

नेपालका तर्फबाट १८ सदस्यीय  प्रतिनिधिमण्डलमा सांसदहरु देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, रमेशजङ्ग रायमाझी, डा वेदुराम भुसाल, प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल, परराष्ट्र सचिवलगायतका पदाधिकारी सहभागी थिए।

प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्