Kathmandu Press

एमाले अध्यक्ष ओली र चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता

काठमाडौं, भदौ २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको...
एमाले अध्यक्ष ओली र चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता

काठमाडौं, भदौ २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ। 

मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा ओली र चान्सुबीच भेटवार्ता भएको संसद सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा दुई देशबीच आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत थिए।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका थिए।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्नुहुने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । आजै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले आज भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको आज भेटवार्ता हुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ। 

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्