प्रधानन्यायाधीश जबराको बयान आजै सक्ने तयारी
काठमाडौं, भदौ २८ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान आज सक्ने महाअभियोग सिफारिश समितिको तयारी रहेको छ।महाअभियोग समितिले जबरालाई आज दिउसो १...
काठमाडौं, भदौ २८ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान आज सक्ने महाअभियोग सिफारिश समितिको तयारी रहेको छ।
महाअभियोग समितिले जबरालाई आज दिउसो १ बजे बयानका लागि बोलाएको छ। यसअघि समितिको बैठक बिहान ११ बजे बोलाइएको सभापति रामबहादुर विष्टले बताए।
महाअभियोग सिफारिश समितिले जबरालाई सोध्न ४३ प्रश्न तयार गरेको थियो। जसमध्ये अहिलेसम्म ३५ वटा प्रश्नको जवाफ लिइसकेको छ।
अब बाँकी प्रश्नको जवाफ आज लिने समितिको तयारी छ। त्यसका लागि बयान लिनुभन्दा अघि समितिको बैठक बोलाइएको सभापति विष्टले बताए।
सत्तारुढ दलका ९८ सांसदले गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यससँगै जबरा निलम्बनमा परेका थिए।
उनीविरुद्ध महाअभियोग प्रस्ताव सिफारिश गर्न प्रतिनिधिसभाले सिफारिश समिति गठन गरेको हो। समितिले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने व्यवस्था रहेको छ।
प्रतिनिधिसभाको समयावधि असोज १ गतेसम्म मात्रै रहेको निर्वाचन आयोगले जनाएको छ। त्यसैले त्यसअघि नै प्रतिवेदन बुझाउनका लागि आज बयान सक्ने तयारी गरिएको सभापति विष्टले बताए।











