नेतृत्व तहलाई गण्डकीका युवा कांग्रेसीहरुको खबरदारी, अग्रजलाई अभिभावकीय भूमिका खेल्न आग्रह
काठमाडौं, भदौ २६ : प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा नेतृत्व लिन कांग्रेसको तल्लो निकायबाट उमेद्वार सिफारिस भएका युवा उमेदवारहरुले आसन्न चुनावमा युवाहरुको सहभागिता बढाउन...
काठमाडौं, भदौ २६ : प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा नेतृत्व लिन कांग्रेसको तल्लो निकायबाट उमेद्वार सिफारिस भएका युवा उमेदवारहरुले आसन्न चुनावमा युवाहरुको सहभागिता बढाउन दबाब स्वरुप पोखरामा युथ टेबल सम्पन्न भएको छ ।
युथ टेबलमा गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधीसभा र प्रदेशसभामा सिफारिस सहभागी भएका युवा उमेदवारहरुबीच आफ्नो लिखित तथा मौखिक प्रस्तुतीमार्फत युवाका एजेण्डा र कांग्रेसले लिनुपर्ने अबको बाटोको बारेमा छलफल गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा युथ टेबलका अभियन्ता अजित क्षेत्री अधिकारीले जानकारी दिए ।
छलफलबाट संघ र प्रदेशको दिगा् विकास, सुशासन र सदाचारको पक्षमा शशक्त आवाज उठाउने, कानुन निर्माणमा अहम भूमिका खेल्ने, रुपान्तरण र पुस्तान्तरणसहितको राजनीतिक व्यवस्थापन गर्नका लागि राज्य र पार्टीका तहमा युवाहरुको प्रभावकारी उपस्थिती गराउने, नविन चिन्तन, सोच र विचारसहितको युवाहरुको सहभागिता र नेतृत्वमा समुन्नत गाउँ र शहर निर्माणमा पहल गर्ने लगायतका निर्णयहरु भएको अधिकारीले बताए । यस्तै आन्तरिक व्यवस्थापन र जवाफदेहिता सहितको विकासका लागि पनि पुराना र अग्रज नेताहरुलाई अभिभावकीय भूमिका खेल्न आग्रह गर्ने निर्णय पनि भएको छ । भेलामा गण्डकी प्रदेशका ११ जिल्लाबाट संघ तथा प्रदेशमा सिफारिस भएका ४७ जना उम्मेदवारहरु सहभागी थिए ।
कार्यक्रममा सहभागी युवाहरुले सुसासन, बिकास केन्द्रीत राजनीति, बेरोजगारी समस्या समाधान गर्न र जीवनस्तरमा अनुभुती हुने सकारात्मक परिवर्तन ल्याउन युवाहरुको नेतृत्व अपरिहार्य रहेको बताएका थिए । युवा नेताहरुले “स्वतन्त्र चम्किने, कांग्रेसका युवा कहिलेसम्म थन्किने”, “परिवर्तनका निम्ति युवा”, “सक्षम युवा, एजेण्डा सहित” लगायतका नाराहरु सहित अभियानको सुरुवात गरिएको हो । अब अर्को चरणको युथ टेबल राजधानी काठमाडौंमा गरिने छ ।












