Kathmandu Press

दार्चुलाका बाढीपहिरो पीडितका लागि राहत कार्यक्रम ल्याउने प्रतिबद्धता

दार्चुला, भदौ २६ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।गृहजिल्ला दार्चुला...
दार्चुलाका बाढीपहिरो पीडितका लागि राहत कार्यक्रम ल्याउने प्रतिबद्धता

दार्चुला, भदौ २६ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहजिल्ला दार्चुला पुगेका मन्त्री बडूले गएराति भएको बाढी र पहिरो प्रभावित क्षेत्रको क्षेत्रको निरीक्षण गर्दै पहिलो चरणमा राहतको कार्यक्रम ल्याइने जानकारी दिए। मन्त्री बडूसहित प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डा. रणबहादुर रावल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले महाकाली नगरपालिका वडा नं ४ को बङ्गाबगड क्षेत्रको बाढी क्षेत्रको निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा अहिलेलाई अस्थायी बसोबास प्रबन्ध गरिने बताउँदै तत्कालै अन्य प्रक्रिया अघि बढाइने बताए। केन्द्रीय र प्रदेशमन्त्री सहभागी टोली बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बललगायत राहत सामग्री लिएर दार्चुला पुगेको थियो।

अविरल वर्षापछिको बाढी र पहिरोमा परेर पाँच जनाले ज्यान गुमाएका छन् भने १० जना बेपत्ता छन्। बाढीपहिरामा परी आठ जना घाइते भएका छन्। लास्कु खोला र महाकाली नदीमा आएको बाढी र नौगाडमा आएको पहिरामा परी मृत्यु भएकाको उद्धारमा कुनै कसुर बाँकी नराख्नसमेत मन्त्री बडूले निरीक्षणका क्रममा निर्देशन दिएका छन्।

लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीमा व्यवसाय गर्दै आएका धनसिंह कार्कीको सपरिवार बाढीमा परेको हो। गत वर्षसमेत बाढीले पसलमा क्षति गरेका कार्कीको परिवारलाई यो वर्ष पूरै सखाप गरेको छ।

अहिलेसम्म घटनामा परी धनसिंहकी श्रीमती मानमति कार्कीको शव महाकाली नगरपालिका–५ नजिकै मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए।

परिवारका धनसिंह, उनका छोराद्वय दीपक र दिनेश अझै बेपत्ता छन्। बाढीपहिरोमा परी महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहराको घरभित्रै पुरिएर मृत्यु भएको उनले बताए। घरपरिवारका अरुले भागेर ज्यान जोगाएका थिए।

त्यस्तै, पहिरोमा परी नौगाड गाउँपालिका–१ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नं २ का ६८ वर्षीय मोहनराम पार्कीको मृत्यु भएको छ।

घटनामा परी महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नं ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नं २ का मानमति शाहु, वडा १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता छन्। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यस्तै महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोबाट घाइते भएकाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते भएकाको जिल्ला अस्पताल दार्चुलामा उद्धार गरिएको हो।

सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका ४५ वर्षीय वीरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए।

यस्तै महाकाली नगरपालिका–२ का हरकसिंह बाहु, वडा नं ४ का अभिषेक कामी र गीता कामीको उद्धार गरिएको छ। घाइते आठै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। नेपाली सेनाकै हेलिकप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितका लागि राहत सामग्रीसमेत ढुवानी गरिएको छ।

उनीहरुलाई स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरभित्र सबै सुरक्षाकर्मी परिचालन गरेर तत्कालै राहत उद्धारको कार्य भइरहेको बताए।

एक सय परिवार प्रभावित

बाढी र पहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परी ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति र ४० घर जोखिममा रहेका छन्।

प्रहरी परिचालन गरी सङ्कलन गरिएको तथ्याङ्कअनुसार महाकाली नगरपालिकामा धेरै क्षति पुगेको छ। नगरपालिकाको वडा नं १, २, ३ र ४ का बङ्गाबगडसम्मका घर क्षति पु¥याएको हो । नौगाड गाउँपालिकाको वडा नं १ मा पहिरोले क्षति पुगेको छ। (रासस)

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्