‘बिपीको विदेश नीति अहिले पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय’
पाेखरा, भदाै २५ : सय नवौँँ विपी जयन्तीका अवसरमा नेपाल लेखक सङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित ‘कूटनीति र विदेश मामिलामा बिपी’ विषयक विचार...
पाेखरा, भदाै २५ : सय नवौँँ विपी जयन्तीका अवसरमा नेपाल लेखक सङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित ‘कूटनीति र विदेश मामिलामा बिपी’ विषयक विचार गोष्ठीमा बिपीको विदेश नीति सन्तुलित भएकामा जोड दिइएको छ।
बिपीले अघि सारेको विचार वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय भएकमा चर्चा गर्दै कार्यक्रमका वक्ताले विदेश नीतिमा सन्तुलन, दूरदर्शिता आदिले उनको महानतालाई दर्शाउने बताए।
प्रस्तुत विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक भीमनाथ बरालले विपीबाहेक कुनै पनि नेतृत्वले विदेश नीति निर्माण र कार्यान्वयनमा सन्तुलन कायम गर्न नसकेको चर्चा गरे।
बिपीपछि नेपालका नेतृत्वले छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायमा नेपालको हस्तक्षेपकारी उपस्थिति र प्रस्ट धारणा बनाउन नसक्दा विदेश नीति कमजोर बन्दै गएको उनले बताए।
अन्तर्राष्ट्रियस्तरका छिमेकी ठूला राष्ट्रका नेहरू, चाउएन, माओलगायत नेतासँग स्पष्ट अडान राख्न सक्ने विपीको व्यक्तित्व नेपालजस्तो सानो मुलुकका लागि असाधारण विषय रहेको सहप्राध्यापक बरालले उल्लेख गरे।
आन्दोलन, निर्वासनका साथै सत्तामा रहँदा पनि विपीले नेपालको विदेश नीतिलाई हस्तक्षेपकारी ढङ्गबाट अघि बढाएको उनले बताए।
सहप्राध्यापक पद्यशरण रेग्मीले विपीको व्यक्तित्वले समकालीन राजनीतिमा नेपालको उचाइ बढाएको बताए। उनले राजनीतिसँगै समाजका विभिन्न क्षेत्रमा विपीले विशिष्ट योगदान पुर्याएको बताए।
विश्लेषक विश्व सिग्देलले विपीका राजनीतिक गतिविधिलाई सम्पूर्ण नेपालीले अनुशरण गर्नुपर्नेमा बेवास्ता गरिएकामा दुःख व्यक्त गरे।
बिपी र उनका समकालीन साहित्यकारले लेखेका कृतिहरूको ओज आजका लेखकहरूले कायम गर्न नसकेको उल्लेख गर्दै उहाँले लेखकहरूले साधना र स्तरलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, कांग्रेस नेत्री सरस्वती गुरुङ, नेपाली लेखक सङ्घका जिल्लाअध्यक्ष सञ्जीव पौडेल, उपाध्यक्ष रीता अधिकारी, सचिव कमल पौडेल ‘अथक’ लगायतले विपीका विचारसँगै उनको वैदेशिक नीतिलाई अवलम्बन गर्न नसक्दा नेपालको अन्तर्राष्ट्रियस्तरमा उपस्थिति कमजोर बन्दै गएकामा चिन्ता व्यक्त गरे।












