Kathmandu Press

सिञ्जा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न माग

सिञ्जा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न माग

जुम्ला, भदाै २५ : जुम्लाका बुद्धिजीवी र नागरिक समाजले सिञ्जा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक अगाडि बढाउन प्रदेश सरकारसँग माग गरेका छन्। 

उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष आज जुम्लामा ज्ञापनपत्र बुझाउँदै कर्णालीको अस्तित्वसँग जोडिएका दुवै विधेयक अगाडि बढाउन आग्रह गरेका हुन्।

विधेयकलाई आफैँले अगाडि बढाउने एकल अधिकार प्रदेश सरकारसँग हुँदा पनि सदनमा लैजानेतर्फ प्रदेश सरकारले चासो नदिएको भन्दै ज्ञापनपत्रमार्फत ती विधेयक छिटो पारित गर्न माग गरिएको बुद्धिजीवी एवं जुम्लाका सहायक क्याम्पस प्रमुख प्रकाश खत्रीले जानकारी दिए।

'सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयकले कर्णालीसहित सिङ्गो नेपालकै संस्कृति, सभ्यता, भाषा, कला र साहित्यको नेतृत्व गर्दछ', बुद्धिजीवी खत्रीले भने, 'यसको संरक्षण र विकासका लागि संरचना र संयन्त्र बनाउन सरकारले ढिलो गर्नु हुँदैन।'

अर्कोतर्फ हिमाली क्षेत्रको शैक्षिक एवं प्राविधिक विकास, जनशक्ति उत्पादन, खोज तथा अनुसन्धानसँग जोडिएको पर्वतीय विज्ञान तथा प्रविधी विश्वविद्यालय विधेयक पनि सरकारले अगाडि बढाउन ढिलो नगरोस् भनेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उनले बताए।

त्यस अवसरमा मुख्यमन्त्री शाहीले आफू सकारात्मक रहेको तर सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत यसलाई अगाडि बढाउनेतर्फ सोचेको बताए। 'मभन्दा अघिको सरकारको समय लामो हुँदा पनि विधेयक अगाडि बढ्न सकेनन्,' उनले भने, 'विद्यालय नै दान दातव्य र चन्दाबाट सञ्चालन गर्नुपर्ने अवस्थामा ठुलो संरचना निर्माणले हुने आर्थिक व्ययभारलाई पनि बुझ्नुपर्दछ।'

बुद्धिजीवी तथा नागरिक समाजले भने दुवै विधेयकले कर्णालीको अस्तित्व र दीर्घकालीन विकासमा ठूलो महत्व राख्ने भन्दै प्रदेशसभाको कार्यकाल सकिनुअगावै मूर्तरुप दिएर कार्यान्वयन प्रक्रियामा लैजाने गरी विधेयक पारित गर्ने वातावरण मिलाउन मुख्यमन्त्री शाहीलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, भदौ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्