एडिलेड शहरमा ‘गाउँ गाउँबाट उठ’ धन्किँदा
अष्ट्रेलिया, मंसिर १८ : मञ्चमा कलाकारले प्रस्तुति दिइरहँदा हलभरिकै दर्शक उफ्रेर गाइरहेको विरलै देखिन्छ। त्यसमा पनि नेपालको गाउँघर जगाउनका निम्ति रचिएक....

अष्ट्रेलिया, मंसिर १८ : मञ्चमा कलाकारले प्रस्तुति दिइरहँदा हलभरिकै दर्शक उफ्रेर गाइरहेको विरलै देखिन्छ। त्यसमा पनि नेपालको गाउँघर जगाउनका निम्ति रचिएको ‘गाउँ गाउँबाट उठ’ गीत अष्ट्रेलियाको पाँचौ ठूलो शहर एडिलेडमा घन्किँदाको दृश्य थियो, यो।
मंगलबार राति कन्सर्ट हेरेर फर्केपछि एडिलेडका रैथाने जो डेभिसलेउनले फेसबुकमा तस्बिर राख्दै टिप्पणी गरेका छन्, ‘माइ फस्ट नेपालीकन्सर्ट... इट वाज असम (यो मेरो पहिलो नेपाली कन्सर्टको अनुभव थियो। गजबलाग्यो।)’
अष्ट्रेलियामा जारी नेपथ्य श्रृंखलाअन्तर्गत तेश्रो कन्सर्ट एडिलेडको ‘एचक्यू कम्प्लेक्स’मा भएको हो।
एडिलेड अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो। कुनै समयकी बेलायती रानीको नाममै राखिएको यो शहर अष्ट्रेलियाकै अरु ठूला शहरहरु भन्दाबेग्लै छ।
नेपालीको जनसंख्या तीब्र गतिमा बढ्दै गएको शहरका रुपमा पनि एडिलेड चिनिन्छ। दुर्इ–चार वर्षअघिसम्म पनि केवल दुई हजार पाँच सय नेपालीको बसोबास रहेको यस शहरमा हाल यो संख्या आठ हजार नाघिसकेको छ। यसमा आधाजस्तो संख्या पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थीहको छ।
‘यतिथोरै नेपालीको बसोबास भएको शहरमा यति भब्य कन्सर्ट होला भनेर कसैले चिताएको पनि थिएनँ,’ कार्यक्रम सम्पन्न हुने बित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङको नजिक पुगेर आयोजक समूहका गगन गिरी र खुम गुरुङले भनेका थिए, ‘तपाइँले नेपाली कार्यक्रमको नयाँ रेकर्ड कायम गरिदिनुभयो।’
सँधैजस्तै दुइटा भिडियो प्रस्तुत गरेपछि नेपथ्यले ब्यान्डकै पहिलो रेकर्ड भएको गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट आफूलाई मञ्चमा उपस्थित गराएको थियो। अनि लगातार एकपछि अर्को ब्यान्डका सदाबहार गीतहरू दुई घन्टासम्म गाइएका थिए। कतिपय भर्खरै रेकर्ड गरिएका गीतहरु पनि प्रस्तुत गरिएको थियो। सबै गीतमा दर्शकले अमृत सँगसँगै गीत गाएर साथ दिए।
‘यतिपर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ, त्यसैगरि त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्याउन नसक्ने गरि आत्मीयता महशुस गराइरहेको हुन्छ। यति धेरै माया गरेर एडिलेडका दर्शकले मलाई ठूलो ऋणी बनाइदिएका छन्।’
अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविनशाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
यसपछि अब नेपथ्यले अष्ट्रेलियाको तास्मानिया राज्यको राजधानी होबार्टस्थित तासमान हलमा डिसेम्बर ८ अर्को सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै छ।












