दार्चुला बाढीपहिरो : मृत्यु हुनेको संख्या पाँच पुग्यो
बाढी र पहिराेका कारण नौगाड गाउँपालिकामा ३ र महाकाली नगरपालिकामा २ जनाकाे मृत्यु भएकाे छ।
दार्चुला, भदौ २५ : दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो ।
गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा नौगाड–१ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र नौगाड–२ का मोहनराम पार्की छन्। नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति भएको पनि प्रहरीले जनाएको छ।
यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली–२ का नन्दराम बोहराको मृत्यु भएको छ । लास्कुको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरू दीपक र दिनेश कार्की बेपत्ता भएका छन्।
डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलमा पनि पूरै क्षति गरेको छ । पावर हाउस बगाएको छ । निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ ।
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ ।
दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ ।
लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन् । महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ ।
दार्चुला तिंकर सडकमा राति पार्किङ गरी राखिएका पाँच वटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ ।











