Kathmandu Press

दार्चुलामा बाढी : डेढ दर्जन घर बगायो, ६ वेपत्ता, १ को मृत्यु

महाकाली नगरपालिका–३ डुंगरीका एकै घरका चार जना वेपत्ता भएका छन्।
दार्चुलामा बाढी : डेढ दर्जन घर बगायो, ६ वेपत्ता, १ को मृत्यु

दार्चुला, भदौ २५ : शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले दार्चुला सदरमुकाम  खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुगेको छ।

बाढीका कारण सो क्षेत्रका करिब डेढ दर्जन घर बगाएको छ भने ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। यस्तै, एक जनाको मृत्यु भएको पनि प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दकाअनुसार जिल्लाको नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको हो । यस्तै, नौगाडकै कासी ठगुन्ना र रम्बा ठगुन्ना गम्भीर घाइते भएका छन्।

यसैगरी महाकाली नगरपालिका–३ डुंगरीका एकै घरका चार जना वेपत्ता भएका छन्। वेपत्ता हुनेमा धनसिंह, मानमती, दीपक र दिनेश कार्की रहेको प्रहरीले जनाएको छ। यस्तै, नौगाडकै एकजना पनि वेपत्ता भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।

बाढीले दर्जनौं घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी छ ।
 
त्यस्तै महाकाली नगरपालिका–३ लास्को खोलाले रोकेर राखेका सातवटा गाडीसमेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

शुक्रबार रातिदेखि परेको अविरल बर्षाले दार्चुला तिंकर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति: १०:१९ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्