आजबाट समानुपातिकतर्फको मतपत्र छपाइ
काठमाडौं, भदौ २५ : निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र आजबाट छाप्ने भएको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुरुमा प्रदेश १, मधेश,...
काठमाडौं, भदौ २५ : निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र आजबाट छाप्ने भएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशको समानुपातिकतर्फको मतपत्र छाप्ने बताए। चारै प्रदेशका लागि करीब एक करोड ३१ लाख मतपत्र छाप्ने उनको भनाइ छ।
त्यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छापिने आयोगले जनाएको छ। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ शुरु हुनेछ।
यसअघि भदौ २१ गतेदेखि आयोगले नमुना मतपत्र छाप्न शुरु गरेको थियो। सबै स्थानीय तहमा नमुना मतदान गर्ने आयोग तयारी छ।
स्थानीय तहजस्तै प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको मतपत्र पनि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिनेछ।











