Kathmandu Press

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकतामात्र सम्भव : सम्मानित नेता खनाल

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकतामात्र सम्भव : सम्मानित नेता खनाल

कास्की, भदाै २४ : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन। समाजवादी प्रेस सङ्गठनले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे।

उनले भने, 'विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन।' पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वामगठबन्धन र  कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताए।    सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले भने, 'देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ।'

प्रकाशित मिति: २०:४९ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्