समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक : नेता बस्नेत
काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक रहेको बताएका छन।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र...
काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक रहेको बताएका छन।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ कार्यक्रमा उनले मुलुकको विकासका लागि कांग्रेसको जीत आवश्यक रहेको बताएका हुन। 'संविधान निर्माणको नेतृत्व गर्ने दल कांग्रेसले नै समृद्ध मुलुक निर्माण गर्छ, समृद्ध मुलुक निर्माणका लागि आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक छ,' उनले भने।
नेता बस्नेतले कांग्रेसलाई जिताउनका लागि कांग्रेस नेता तथा कार्यकता जनताको घरदैलोमा पुग्नुपर्ने बताए। जननायक वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायतले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस क्षेत्र नं ६ का सांसद एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाझ लैजान जननायक बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए। सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो । सांसद प्रधानले पार्टी विधानअनुसार चल्नुपर्ने बताए।
कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबै नेता तथा कार्यकर्ता मन, वचन र कर्मले लाग्नुपर्ने बताए। 'कांग्रेसलाई जिताउनका लागि सबै लाग्नुपर्छ, एउटै व्यक्तिले पटकपटक टिकट पाउने परिपार्टी पार्टीभित्र अन्त्य हुनुपर्छ, युवालाई अवसर दिएमात्र पार्टी चलायमान हुन्छ,' उनले भने ।
कांग्रेस बागमती प्रदेशकी सहमहामन्त्री एवं प्रदेशसभा सदस्य जीवन डङ्गोल र काठमाडौँ महानगरपालिकाका पूर्वउपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले प्रजातन्त्र स्थापनाका लागि महिलाको महत्वपूर्ण योगदान रहेको भन्दै आगामी निर्वाचनमा पार्टीले महिलालाई धेरैभन्दा धेरै टिकट दिएर न्याय गर्नुपर्ने बताए ।
कांग्रेस तारकेश्वर नगरपालिकाका सभापति एवं सो नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउनका लागि सबै नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट काठमाडौँका विभिन्न स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।











