गठबन्धनविरुद्ध ठूलो षड्यन्त्र भइरहेको छ तर कुनै हालतमा टुट्दैन : प्रधानमन्त्री

काठमाडौं, भदौ २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध ठूला षड्यन्त्र भइरहेको बताएका छन । कांग्रेस चिवतन जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध ठूलो षड्यन्त्र भएको बताएका हुन् ।
तर कुनैपनि हालतमा गठबन्धन नटुट्ने प्रधानमन्त्री देउवाले बताए । ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ, तर गठबन्धन कुनै हालतमा टुट्दैन।’ उनले गठबन्धनको विरोध नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
‘गठबन्धनको विरोध गर्नु भनेको पार्टीको विरोध गर्नु हो,’ उनले भने । पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीलाई फाइदा हुनेगरी सिट बाँडफाँट गरिने पनि बताए ।
उनले एमसिसी पास गर्दा अमेरिकी सेना नेपाल आउँछ भनेर सरकारविरुद्ध भ्रम फैलाइएको बताए । ‘एमसिसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे, खोइ त अमेरिकी सेना आएको ? देउवाले भने, ‘सरकार र गठबन्धनविरुद्ध षड्यन्त्र भइरहेको छ, पार्टी एक ढिक्का हुनुपर्छ,’ उनले भने ।











