बिपीको दृष्टिकोण र संस्कार अहिले पनि जीवन्त : महामन्त्री शर्मा
काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्ती कांग्रेस तथा शुभेच्छुक संस्थाहरुले विभिन्न कार्यक्रम गरेका छन्।बिपी जन्मजयन्तीका अवसरमा...
काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्ती कांग्रेस तथा शुभेच्छुक संस्थाहरुले विभिन्न कार्यक्रम गरेका छन्।
बिपी जन्मजयन्तीका अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बिपी संग्रहालयमा रहेको बिपीको सालिकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरुले माल्यार्पण गरेका थियो। सो क्रममा शर्माले बिपी भनेको विचार र संस्कार भएको बताए। समाजलाई बुझ्ने क्रममा बिपीको दृष्टिकोण अहिले पनि जीवन्त रहेको उनले बताए।
उनले अहिले कांग्रेसको घोषणापत्रमा निरन्तरतामा नवीनता प्रदान गर्ने जिकिर गरे। कांग्रेस घोषणा पत्र मस्यौदा समितिका संयोजक समेत रहेका शर्माले पार्टीको घोषणापत्रले युवाहरुलाई आगामी बाटो देखाउने दाबी गरे।
कतै नेपाल श्रीलंका त हुने होइने भन्ने भ्रमपूर्ण प्रचार भइरहेको भन्दै उनले अहिले नेपालमा त्यस्तो अवस्था नरहेको स्पष्ट पारे। शर्माले जनताका बीचमा आत्मआलोचना गर्दै विगतको गल्ती दोहाेरिन नदिनेगरी काम गर्ने बताए।
जहानियाँ राणा शासनको विरोधमा वीपीका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।
भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिए। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन विरुद्ध २००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो।
२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए। उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ।











