प्रचण्डले भने– म प्रधानमन्त्री बन्ने रेसमा छैन
'इच्छा राखेकाे भए ०७४ को निर्वाचनको लगत्तै पनि प्रधानमन्त्री हुन सक्थेँ । पाँचै वर्षकै लागि प्रधानमन्त्री हुन मेरो ढोका खुल्ला थियो ।तर मैले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएँ।'
काठमाडौं, भदौ २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
शुक्रबार कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको र गठबन्धनमा पनि सो विषयमा छलफल नभएको बताएका हुन् ।
‘अहिले हामीले प्रधानमन्त्रीको विषयमा बढी चर्चा गरेका पनि छैनौं । अगाडि नै प्रधानमन्त्री फलानो भनेर लैजाने मुडमा पनि गठबन्धन छैन । मपनि छैन,’ प्रचण्डले भने । प्रधानमन्त्री को बन्ने भन्ने कुरा नटुंगिएको कारण सिट बाँडफाट नटुंगिएको भन्ने कुरा सत्य नभएको पनि उनले बताए ।
प्रचण्डले प्रधानमन्त्री बन्ने ईच्छा राखेको भए आफू पहिल्यै प्रधानमन्त्री बन्ने बताए । ‘०७४ को निर्वाचनको लगत्तै पनि हुन सक्थेँ । पाँचै वर्षका लागि प्रधानमन्त्री हुन मेरो ढोका खुल्ला थियो,’ उनले भने, ‘तर मैले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएको हुनाले मलाई प्रधानमन्त्री होइन बामपन्थी एकता ठूलो छ । देशमा राजनीतिक स्थायीत्व र विकास ठूलो छ भनेर छोडेको हो।’
अहिले पनि प्रधानमन्त्रीको बारेमा कुनै डिबेट नभएको उनले बताए । ‘अहिले पनि प्रधानमन्त्री नै बन्न चाहने हो भने बन्ने स्थिति पनि छ । तर म बन्दिनँ र देश र जनताका लागि फाइदाजनक हुँदैन पनि त्यसकारण म त्यो रेसमा छैन भनेको छु ,’ उनले भने ।
अब चुनावपछिको कुरो कस्तो हुन्छ चुनावको रिजल्टले देखाउने प्रचण्डले बताए ।











