राष्ट्रपति नागरिकता विधेयकलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा रहेको पाएँ : प्रचण्ड
‘केही दिनअघि राष्ट्रपतिसँग भेटेर कुरा गर्दा उहाँ यस विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा भएको देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ,’ प्रचण्डले भने ।
काठमाडाैं, भदाै २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुने सम्भावना पनि रहेको बताएका छन् ।
शुक्रबार कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले राष्ट्रपतिसँगको भेट र कुराकानी गर्दा विधेयक प्रमाणीकरण गर्ने मुडमा नदेएिको बताएका हुन् । ‘केही दिनअघि राष्ट्रपतिसँग भेटेर कुरा गर्दा उहाँ यस विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा भएको देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ,’ प्रचण्डले भने ।
उनले दोस्रो पटक पनि सरकारले ल्याएको विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए । त्यस्तो भएको अवस्थामा राष्ट्रपतिको राजीनामा र अदालती प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए।
राजीनामा र अदालती प्रक्रियाका बारेमा राष्ट्रपतिलाई पनि भनेको प्रचण्ड बताउँछन् । ‘मैले राष्ट्रपतिजीलाई भनेको थिएँ– यदी तपाईँले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने या त राजीनामा दिनुपर्ने स्थिति आउँछ या अदालतमा जान्छ,’ उनले भने ।
प्रचण्डले अगाडि भने, ‘यो दुइवटा हुनसक्छ यो अनुमानको कुरा हो तर मलाई लाग्छ राष्ट्रपतिले यो पटक प्रमाणीकरण गर्नुहुन्छ।’











