‘आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जित्छ’

रूपन्देही, भदाै २३ : नेकपा (एकीकृत समाजावादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जीत हासिल गर्ने बताएकी छन।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा गरेको साक्षात्कारमा नेता झाँक्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर निर्वाचनमा जानेलाई जनताको साथ मिल्ने स्पष्ट पारिन।
नेकपा (एमाले) ले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेल, जस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै उनले स्थानीय माग र आवश्यताका आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गरिन।
मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले देशको विकास र आम नेपालीको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक भएको जिकिर गरे। जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेको एमालेलाई आगामी निर्वाचनमा जनताले साथ नदिने उनको भनाइ थियो।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विनोद पहाडीले सङ्घीयता र संविधानलाई संस्थागत गर्न पाँच दलीय गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा भिड्ने बताए।
एमालेका लुम्बिनी प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले मुलुकमा एमाले बलियो पार्टीका रूपमा स्थापित भएको जनाउँदै गठबन्धनसँंग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने र पार्टीको साख जोगाउने बताए। पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएकाले निर्वाचन आयोगले निगरानी गर्नुपर्ने उनको भनाइ थियो।











