चाडबाडमा मूल्यवृद्धि र कालाबजारी राेक्न प्रभावकारी अनुगमन : मन्त्री बडू
काठमाडाैं, भदाै २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चाडबाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन...
काठमाडाैं, भदाै २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चाडबाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन गर्ने बताएका छन्।
आफुले मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामको बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्ने बताएका हुन्।
उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामग्री राख्ने र बजारमा भन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने धारणा राखे। मन्त्री बडूले पेट्रोलियम पदार्थको आयातका लागि पाईपलाईन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीति लगाएतका योजनाहरु सार्वजनिक गरे।
त्यस्तै उनले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमशः पुरानै अवस्थामा फर्किएको दाबी गरे। रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाइ छ। मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको दाबी गरे।
उनले नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको तथा थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताए।











