सन्दीप लामिछानेमाथिको आरोपबारे आइसिसीको चासो
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आइसिसीले सन्दीपको विषयमा चासो देखाएको जानकारी दिएका छन् ।
काठमाडौं, भदौ २३ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको विषयमा चासो देखाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आइसिसीले सन्दीपको विषयमा चासो देखाएको जानकारी दिएका छन् ।
‘आइसिसीका अधिकारीले मलाई यस विषयमा बारम्बार सोधेका छन्। मैले घटनाको बारेमा ब्रिफिङ गरेको गरिरहेको छु । आइसिसीले यो केसमा के हुन सक्छ भनेर चासो राखेको छ। मैले नाबालिग केस भएको र नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू पनि सिरियस भएका छन्,’ मल्लले भने ।
प्रहरीमा जाहेरी दर्ता भएपछि बिहीबार मल्लले सन्दीपसँग पनि कुराकानी भएको बताए । आफूसँगको कुराकानीमा सन्दीपले जबरजस्तीकरणीमा आफ्नो संलग्ना अस्वीकार गरेका बताएका मल्लले जानकारी दिए । सन्दीपले कानुनी लडाईँ लड्नका लागि क्यानसँग सहयोगको अपेक्षा गरेको मल्लको भनाई छ ।
‘हाम्रो खेलाडी हो । अपराध गरेको रहेछ भने ढाकछोप गर्दैनौं । अपराधी नै हो भने राज्यको कानुन अनुसार कानुनी उपचार उपयोग गर्न पाउनु उसको अधिकार हो । हामी उसको अभिभावक हौ भने उसको लागि लयर हायर गर्न सहजीकरण गरिदिन्छौं,’ मल्लले भने ।
यसैबीच बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । प्रहरीले अब कुनैपनि बेला सन्दीपलाई पक्राउ गर्न सक्छ ।
लामिछानेविरुद्ध मंगलबार एक नाबालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति मागेको थियो । सोही अनुसार अदालतले बिहीबार अनुमति दिएको हो ।
प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक अनुसन्धान जारी राखेको छ । पीडित किशोरीले सन्दीपले आफूलाई दिनभरी नगरकोट घुमाएको र राती काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको बताएकी छन् । प्रहरीले काठमाडौं र नगरकोटको होटलका सिसीटिभी फुटेज संकलन गरिसकेको छ । फुटेजमा सन्दीप किशोरीसँगै देखिएको प्रहरीले जनाएको छ ।











