सिट बाँडफाँट चाँडै टुंगो लाग्छ : देउवा
काठमाडौं, भदौ २३ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका दलहरूबीच सिट बाँडफाँटलाई चाँडै टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन्।आज (बिहीबार) बिहान वाग्मती...
काठमाडौं, भदौ २३ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका दलहरूबीच सिट बाँडफाँटलाई चाँडै टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन्।
आज (बिहीबार) बिहान वाग्मती प्रदेशका कांग्रेसका जिल्ला सभापतिहरुकाे ज्ञापनपत्र बुझ्दै उनले गठबन्धनमा आबद्ध सबै दललाई न्याय हुनेगरी सिट बाँडफाँट गर्नुपर्ने भएकाले केही ढिलाइ भए पनि अब चाँडै टुंगाे लाग्ने उनको भनाइ थियो।
वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बालुवाटार पुगेर आज (बिहीबार) ज्ञापनपत्र बुझाएका हुन्। सभापतिहरूले ‘रूख’ मा भोट हाल्न पाउनुपर्ने माग देउवासमक्ष राखेकाे बुझिएकाे छ।
पाँच दलीय सत्ता गठबन्धनले कार्यदल नै बनाएर एक महिनादेखि सिट बाँडफाँटबारे छलफल गरिरहे पनि सोमबार मध्याह्नसम्म सहमति हुन सकेको छैन। आज (बिहीबार) साँझसम्म सिट बाँडफाँटको विषय टुंगो लाग्न सक्ने देउवाले बताए।
गठबन्धन दलहरूले आआफ्नो अडान नछाड्दा निष्कर्ष निकाल्न ढिलाइ भइरहेको हो।











