गठबन्धन बैठक बस्दै, सिट बाँडफाँट आजै टुंग्याउने तयारी
काठमाडौं, भदौ २३ : प्रदेश र प्रतिनिधि सभा सदस्यको सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको...
काठमाडौं, भदौ २३ : प्रदेश र प्रतिनिधि सभा सदस्यको सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
शीर्ष नेताहरुको बैठक अघि बालुवाटारमा सिट बाँडफाँट कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । कार्यदलले शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने बताइएको छ । कार्यदलले सिट बाँडफाँटको मोडालिटी, निर्वाचन क्षेत्र अनुसार पार्टीको शक्ति, स्थानीय निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुले पाएका मतपरिणाम आदि विभिन्न विषय समेटेर प्रतिवेदन तयार पारेको छ ।
शीर्ष नेताहरुले प्रतिवेदनलाई आधार बनाई सिट बाँडफाँटमा सहमतिको प्रयास गर्नेछन् । सिटमात्र नभई निर्वाचन क्षेत्र समेत बाँडफाँट गर्नेगरी सहमति हुने नेताहरुले बताउँदै आएका छन् । गठबन्धनका शीर्ष नेताहरुको बैठकले आजै सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।











