सन्दीप सीपीएल सकिएपछि नेपाल फर्कने, कानुनी लडाईँमा सहयोग गर्न क्यानलाई आग्रह
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार क्यानसँगको कुराकानीमा सन्दीपले कानुनी लडाईँका लागि सहयोग मागेका छन्।
काठमाडौं, भदौ २३ : नाबालिकालाई जबरजस्तीकरणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघको सम्पर्कमा आएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपलाई क्यानले सम्पर्क गरेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार क्यानसँगको कुराकानीमा सन्दीपले कानुनी लडाईँका लागि सहयोग मागेका छन्। उनले क्यारेबियन प्रिमियर लिग सकिएपछि मात्रै आफू नेपाल फर्किने क्यानलाई जानकारी दिएका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीपविरुद्ध तत्काल कुनै एक्सन नलिने बताइसकेका छन् । काठमाडौं प्रेससँग बुधबार भएको कुराकानीमा अध्यक्ष चन्दले सन्दीपविरुद्धको आरोप पुष्टि नभएका कारण तत्काल कुनै निर्णय लिइहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा सन्दीपले बालिकालाई भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।
प्रहरीले भक्तपुर र काठमाडौंका होटलको सिसीटिभी फुटेज समेत संकलन गरिसकेको छ । प्रहर िसन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारीमा छ ।











