गठबन्धन कार्यदल बैठक बस्दै, आज प्रतिवेदन बुझाउने
काठमाडौं, भदौ २३ : सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि सीट बाँडफाँड गर्न गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौं, भदौ २३ : सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि सीट बाँडफाँड गर्न गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे गठबन्धन कार्यदलको बैठक बस्दै छ। आजको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र केही सहमति हुन बाँकी विषय टुंग्याउने कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बुधबार बसेको कार्यदलको बैठकले चुनावी तालमेलको खाकासहितको प्रतिवेदन तयार गरेको थियो। आजको बैठकले त्यसलाई अन्तिम रुप दिने जनाइएको छ।
सीट बाँडफाँडको विषय लगभग टुंगिएको कार्कीले बताए। केही सीटमा दोहोरो दाबी रहेको छ। त्यसका लागि आज बिहान बैठक बोलाइएको हो।
त्यसमा सहमति जुटाउने प्रयास हुनेछ। सहमति जुट्न नसकेपछि त्यहि दोहोरो दाबी सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाइने उनले बताए।
गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमति गरिसकेको छ। त्यसका लागि खाका बनाउन ११ सदस्यीय कार्यदल गठन गरिएको थियो।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा सबै पार्टीका दुई दुई जना सदस्य रहेका छन्। गत साउन २० गते गठन भएको कार्यदलले आज आफ्नो काम पूरा गर्ने मन्त्री कार्कीले बताए।











