एमालेमा रहेका पूर्वमाओवादी नेताहरुलाई पार्टीमा फर्कन प्रचण्डको अपिल
'सबै साथीहरुलाई घर फर्किने वातावरण बनाउन मेरो ठाउँबाट उहाँहरुप्रति कुनै आग्रह र पूर्वाग्रह राखिने छैन । संगै लड्ने, संगै मर्ने र संगै अगाडि बड्ने बातावरण बनाइनेछ।’
काठमाडौं, भदौ २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा रहेका पूर्वमाओवादी नेताहरुलाई पार्टीमा फर्कन अपिल गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीमा फर्केर आन्दोलनलाई थप बलियो बनाउन आग्रह गरेका हुन्।
उनले माओवादी केन्द्र एमालेभन्दा हरेक दृष्टिकोणले बढी बैचारिक, विचारधाराप्रति प्रतिवद्ध, क्रान्तिको विरासत बोकेको पार्टी भएका कारण समयमै वुद्धि पुर्याएर पार्टीमा फर्कन आग्रह गरेका हुन् । पार्टीमा फर्कन चाहेको अवस्थामा उनीहरुप्रति कुनैपनि पूर्वाग्रह नराखी जिम्मेवारी दिने पनि प्रचण्डले प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘माओवादीमा विचारधारा छ, राजनीति छ, मुद्दा छ, परिवर्तन गर्ने प्रतिवद्धता छ, आन्दोलन र क्रान्तिको विरासत छ, समाजवादतिर जाने प्रतिवद्धता छ,’ अध्यक्ष प्रचण्डले भने,‘ती सबै साथीहरुलाई घर फर्किने वातावरण बनाउन मेरो ठाउँबाट उहाँहरुप्रति कुनै आग्रह र पूर्वाग्रह राखिने छैन । संगै लड्ने, संगै मर्ने र संगै अगाडि बड्ने बातावरण बनाइनेछ।’
उनले आफ्नो बुझाईमा हिँजो संगै लडेका सहयोद्धाहरु एमालेमा गएपछि बडो पीडा, छटपटी र बेचैनीमा बाँचिरहेको प्रचण्डले बताए। ‘दुःख, सुख, हाँसो, आँसु, रुदै, कराउँदै त्यत्रो आन्दोलनमा संगै लडेका साथीहरु हुनुहुन्छ,’ उनले भने, ‘अहिले उहाँहरुलाई चैन छैन।’
प्रचण्डले एमाले दक्षिणपन्थी, अवसरवादी, व्यक्तिवादी, दम्भी र अहंकारी छ भन्ने कुरा पुष्टि भएको पनि बताए । आजको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मान्यतासहित देशका महिला, दलित, जनजाति, मुस्लिम, आदिवासी, पिछडिएका क्षेत्रका जनताले जेजति राजनीतिक अधिकार प्राप्त गरे त्यो मुख्य रुपमा माओवादी आन्दोलनकै परिणाम रहेकोमा दुई मत नरहेको प्रचण्डको भनाई छ।
उनले माओवादी बलियो हुँदामात्र देश र जनता बलियो हुने बताए । परिवर्तन नरुचाउनेहरु तत्वहरु परिवर्तनको बाहक माओवादी हो र माअोवादी बलियो हुँदामात्रै देश र जनता पनि बलियो हुन्छ भन्ने कुरा मान्न र बुझ्न बझुाउन तयार नरहेको बताए। ‘बरु परिवर्तनलाई उल्ट्याउन संविधानमाथि घात गर्ने र माअोवादीलाई बदनाम गर्ने, बदनाम गर्न भएका नभएका जस्तासुकै प्रचार गरेर भएपनि त्यो अभियान चलाउने गणतन्त्र र संघीयता, समावेशीता, समानुपातिक विरोधी लागिरहेकै छन्,’ उनले भने।
उनले कम्युनिस्ट आन्दोलन र उत्पीडित जनताको पक्षमा आन्दोलन गर्ने शक्तिहरु एकठाउँमा आउनुपर्ने बताए । उनले भने, ‘लडेर ल्याएको परिवर्तन र अधिकारको रक्षा गर्न सबै परिवर्तनकामी शक्तिहरु एकठाउँमा केन्द्रीत हुन जरुरी छ । एकीकृत नभई रक्षा तथा परिमार्जन र विकास गर्न पनि सकिँदैन। त्यो जिम्मेवारी पूरा गर्न सक्ने विचार र संगठन माओवादी केन्द्र मात्रै हो ।’
माओवादी आन्दोलन नेपालको इतिहासको एउटा महान आन्दोलन रहेको बताउँदै प्रचण्डले लाखौं करोडौं जनताको सपना यही आन्दोलनमा जोडिएो बताए। ‘यसैलाई बलियो बनाएर मात्रै हामीले आफ्नो जीवनको सार्थकता र औचित्य पुष्टि गर्न सकिन्छ । आनन्दको अनुभूति आन्दोलनमा मात्रै हुन्छ , अन्त गएर हुँदैन,’ उनले भने ।
उनले परिवर्तनका बाहक सबैलाई माओवादी पार्टी बलियो बनाएर देशलाई समाजवादको यात्रातर्फ अगाडि बढाउन अपिल गरेका छन् ।











