दक्षिण कोरिया कोरोना सङ्क्रमित बढ्दाे, भारत र पाकिस्तानमा उतारचढाव

नयाँ दिल्ली, भदाै २२ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापी रूपमा कोभिड-१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनिय रूपमा घटेको छैन।
मंगलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन्।
यद्यपि सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका थिए। सोमबारको तुलनामा मंगलबार सङ्क्रमित घटेका छन्।
हाल दक्षिण कोरियामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख ९१ हजार नौ सय ६१ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन्।
मङ्गलबार कोरोना सङ्क्रमणको कारण ४६ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार दुई सय ४९ पुगेको छ। दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन।
यसैबीच भारतमा एकै दिनमा पाँच हजारभन्दा बढीमा कोरोना सङ्क्रमिण्त भएका छन्। यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म पाँच हजार तीन सय ७९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ।
यसैसँगै भारतमा चार करोड ४४ लाख ७२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा चार हजार चार सय १७ जनामा सङ्क्रमण देखापरेको थियो। दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार पाँच सय ९४ जना रहेका छन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्।
चौविस घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरात कोरोना सङ्क्रमणबाट भारतमा २७ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ५७ जनाको मृत्यु भएको छ।
भारतमा हिजो एक दिनमा सात हजार ९४ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ३८ लाख ९३ हजार पाँच सय ९० जना कोरोनामुक्त भएका छन्।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।। सो समयबाट हालसम्म दुई अर्ब १४ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ।
भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ। यसैबीच भारतको छिमेकी देश पाकिस्तानमा मङ्गलबार थप एक सय ५८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्।
यसैसँगै पाकिस्तानमा १५ लाख ७० हजार चार सय ६२ जना कोरोना कूल सङ्क्रमित भएका छन्। पाकिस्तानमा मङ्गलबार कोरोना सङ्क्रमणको कारण एक सय पाँच जनाको मृत्यु भएको छ। कोरोना शुरु भएयता पाकिस्तानमा ३० हजार पाँच सय ९४ जनाले ज्यान गुमाएका छन्।












