बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा आउँदै
नयाँदिल्ली, भदाै २० : बंगलादेशका प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणमा आज यहाँ आउँदैछिन्। कोभिड–१९ महामारी सुरु भएयता उनको यो पहिलो भारत भ्रमण...
नयाँदिल्ली, भदाै २० : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणमा आज यहाँ आउँदैछिन्। कोभिड–१९ महामारी सुरु भएयता उनको यो पहिलो भारत भ्रमण हो।
भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नेछिन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट गर्नेछन्। उनले राजस्थानको अजमेरस्थित सुफी सन्त मोइनुद्दिनको पनि भ्रमण गर्ने सम्भावना छ।
सतह र सामुद्रिक सीमांकन, रक्षा सहयोग बढाउने, सम्पर्क सञ्जाल विस्तार, विकास सहायता, सांस्कृतिक आदानप्रदान, ऊर्जा प्रवद्र्धन एवम् त्यसको व्यापार, बन्द व्यापार एवं वाणिज्य दक्षिण एसियामा दिगो स्थायित्व कायम गर्नेलगायत पारस्परिक हित र चासको विषय वार्ताका शीर्ष विषयवस्तु हुनेछन्।
सन् २०२१ मा दुई देशबीचको सम्बन्ध ५०औं वर्षमा प्रवेश गरेपछिको उनको यो पहिलो भ्रमणलाई भारतले महत्व दिएको छ। सोही वर्ष प्रधानमन्त्री मोदीले बंगलादेशको भ्रमण गरेका थिए।
सन् २०१५ यता दुवै देशका प्रधानमन्त्रीबीच १२ पटक भेट भइसकेको छ। गत वर्ष बंगलादेशको स्वतन्त्रताको ५०औं वार्षिकोत्सव तथा त्यसका संस्थापक शेख मुजिबुर रहमानको १००औँ जन्मजयन्ती पनि मनाइएको थियो।
केही वर्षयता भारत र बंगलादेशले सम्पर्क सञ्जाल विस्तार तथा क्षेत्रीय सहयोग प्रवर्धनका प्रयास गरिरहेका छन्। अखौरा–अगरतला रेलमार्ग चाँडै सञ्चालनमा आउने तथा केही साताभित्रै अगरतला र चटगाउँ हवाईसेवाबाट जोडिने अनुमान गरिएको छ।
प्रधानमन्त्री हसिनाको भ्रमणका क्रममा दुवै देशले कुसियारा नदीको पानीको बाँडफाँटसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
भारतको ‘छिमेक पहिला’ नीतिअन्तर्गत बंगलादेश एक महत्वपूर्ण साझेदार हो। नयाँदिल्लीले सुरक्षा, व्यापार, वाणिज्य, ऊर्जा, यातायात र विज्ञान तथा प्रविधि, प्रतिरक्षा, नदी तथा समुद्री मामिलालगायत सबै क्षेत्रमा सहयोग विस्तार गर्दै आएको छ।
दक्षिण एशियामा बंगलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो। पछिल्लो पाँच वर्षका द्विपक्षीय व्यापार नौ अर्ब अमेरिकी डलरबाट बढेर १८ अर्ब डलर पुगेको छ। भारतका निम्ति बंगलादेश चौथो ठूलो निर्यात गन्तव्य हो।
बंगलादेश र भारत दुवै सांस्कृति, आर्थिक, भाषिक, राजनीतिक एवम् धार्मिक रूपमा धेरै समानता भएका देश हुन्। बंगलादेशको स्वतन्त्रता सङ्ग्राममा भारतको महत्वपूर्ण भूमिका भएता पनि नयाँदिल्ली र ढाकाबीचको सम्बन्ध अति सुमधुर वा विवादमुक्त भने भएको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो ढाका भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको थियो। हालैका वर्षमा दुवै देशबीच कूटनीतिक र आर्थिक क्षेत्रमा धेरै सम्झौताहरू पनि भएका छन्।
भारत र बंगलादेश बीचको द्विपक्षीय सम्बन्ध सहयोगको मानकका रूपमा बढ्दै गएको छ। वार्ता र रचनात्मक संवादको माध्यमबाट समस्या समाधानका प्रयास पनि भइरहेका छन्। यद्यपि नदी र जल बाँडफाँटका विषयमा भने मतैक्यता हुन सकेको छैन।
नदीहरू दुई देशहरू बीचको सबैभन्दा उल्लेखनीय साझा स्रोत हुन्। दिल्ली र ढाकाको द्विपक्षीय सहयोग एजेन्डामा पानी व्यवस्थापन र पानी बाँडफाँटका मुद्दामा धेरै बहस हुने गरेको छ। पछिल्लो समय भने दुई देशले प्राथमिकताका आधारमा पानी बाँडफाँट सम्झौताको ढाँचा पनि विकास गरेका छन्।
सम्झौताका निम्ति पहिचान गरिएका दुई देशका साझा प्रमुख नदी गङ्गा, टिष्टा, मनु, मुहुरी, खोवाई, गुम्ती, धरलाबारे हालै दुवै देशका अधिकारी सम्मिलित संयुक्त आयोगले समझदारीपत्रलाई अन्तिम रूप दिएको छ। बाह्र वर्षको अन्तरालपछि भएको उक्त आयोगको बैठक विवादका विषय निरूपण गर्न निकै हदसम्म सफल भएको थियो।
बंगलादेश पनि आफ्नै गतिमा विकासको पथमा क्रमशः लम्किरहेको छ। उसले पछिल्लो समय आर्थिक विकासमा केही फड्को पनि मारेको छ।
फलस्वरुप ढाका संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित राष्ट्रको सूचीबाट बाहिर निस्कने चरणमा पुगेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदीसमक्ष बंगलादेश–भारत बृहत् आर्थिक साझेदारी सम्झौताको प्रस्ताव गर्ने बताइएको छ।












