गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै : मुख्यमन्त्री पोखरेल

गण्डकी, भदाै १९ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको बताएका छन। आइतबार शाखा अधिकृतस्तरका कर्मचारीको सेवाकालीन तालिमको सुरुआत कार्यक्रममा उनले प्रतिष्ठानको छुट्टै महत्व रहेको बताए।
प्रतिष्ठानले आइएसओ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ। मुख्यमन्त्री पोखरेलले आज नै आइएसओ प्रमाणपत्र सार्वजनिक गरे। प्रमाणपत्रले अरु प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल रहेको उनले सुनाए।
यहाँ बनेको पाठ्यक्रम अन्य प्रदेशका प्रशिक्षण प्रतिष्ठानले प्रयोग गरेकाले सुरुआती समयमा नै फरक खालको क्षमता प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो। प्रदेश सरकार केन्द्र सरकारसँगको अधिकारको लडाईंमा काम गरिरहे पनि प्रतिष्ठानले प्रदेशलाई चिनाउने काम गरेकामा उनले खुसी व्यक्त गरे। आगामी दिनमा अझै राम्रा काम गर्नका लाग मुख्यमन्त्री पोखरेलले सुझाव दिए।
कार्यक्रममा गण्डकीका प्रमुख सचिव रविलाल पन्थ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लले प्रदेशलाई चिनाउने काममा प्रतिष्ठानले पुलको काम गरिरहेको बताए।
सोही अवसरमा प्रतिष्ठानले अन्तरतहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताए। विषेशगरी प्रतिष्ठानले प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको उनले जानकारी दिए। पहिलो वर्ष चार हजार नौ सय २७ र दोस्रो वर्ष छ हजार आठ सय ८७ जना कर्मचारी तथा जनप्रतिनिधि प्रशिक्षित भएको उनले बताए।












