इलाम क्षेत्र नं २ बाट सुवास नेम्वाङ सिफारिस
मङ्गलबारे, भदौ १९ : आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस...
मङ्गलबारे, भदौ १९ : आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ। एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहनुभएका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो।
क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको हो। मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय/संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन। उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए।
क्षेत्र नं २ (क) बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको जनाइएको छ। बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन। एमालेले हाल अन्य स्थानका समेत उम्मेदवार टुङ्गो लगाउन कसरत गरिरहेको छ। अन्य क्षेत्रबाट आकांक्षी धेरै भएपछि सम्बन्धित कमिटीले जिल्लामा नाम सिफरिस गरेर पठाएको छ।
नाम छनोटमा बढी पार्टीमा समय दिएकालाई टिकट दिने गरी छलफल भइरहेको पार्टीले जानकारी दिएको छ। जिल्लामा प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। त्यस्तै प्रदेशसभामा चार वटा निर्वाचन क्षेत्र रहेका छन्।












