मनोहरा दोभानबाट दुई मेट्रिकटन फोहोर व्यवस्थापन
काठमाडौं, भदौ १९ : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बागमती सफाइ गरी दुई मेट्रिकटन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ।बागमती...
काठमाडौं, भदौ १९ : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बागमती सफाइ गरी दुई मेट्रिकटन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ।
बागमती सफाइ महाअभियानको ४८६औँ हप्तामा बागमती मनोहरा दोभानमा सफाइ गरिएका हो। सफाइमा प्रमुख अभियानकर्मी पूर्वमुख्यसचिव लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, नागरिक सहयोग सञ्जालका अध्यक्ष मोहन पराजुली, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्ध, ढुङ्गेल समाज चिसापानी रामेछापका अध्यक्ष झनकराज ढुङ्गेल, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घ, स्थानीयवासी, आलोकनगर समुदाय एवं बागमती अभियाकर्मीले नदीभित्र राखिएको ठूलो ह्युम पाइपमा अड्किएको फोहोर र नदीभित्रको फोहोर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले बताए।
बागमती सफाइ अभियानकर्मी मदन पोखरेल, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी जयराम विश्वकर्मा एवं बागमती सफाइ अभियानकर्मीको पहलमा ह्युम पाइपमा अड्किएको फोहोर निकाली नदीको पानी सहज तरिकाबाट बग्ने व्यवस्था मिलाइएको छ।
२०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सञ्चालन भइरहेको छ। यस महाअभियानमा प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर सफाइ गरिँदै आएको छ।
हाल राजधानीमा २५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ। यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। हाल राजधानी बाहिर एक सय नौ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ। (रासस)












