Kathmandu Press

‘अर्थतन्त्र उकास्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ’

‘अर्थतन्त्र उकास्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ’

काठमाडाैं, भदाै १८ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा उनले सरकार अर्थतन्त्रलाई उकास्नेगरी आधारभूत पूर्वाधार र ठूला आयोजना निर्माणमा केन्द्रित भएकाले अबका दिनमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे। 

'गत वर्षको हाम्रो कामसँग म ‘ह्याप्पी’ छु। राष्ट्र बैंकले सही निर्णय र नीति लिएकाले अर्थतन्त्र सही दिशामा अघि बढेको छ,' उपाध्यक्ष पौडेलले भने। उनले नेपालमा लाइसेन्स दिँदा घुस लिने प्रचलन बढेको भन्दै लाइसेन्स राजको अन्त्य गर्नुपर्ने बताए। उनले भने, 'नेपालमा लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने गरेको छ। हरेक क्षेत्रमा सिण्डिकेट छ। अनेक खालको एकाधिकर मौलाएको छ, त्यसैले लाइसेन्सराजको अन्त्य हुनुपर्छ।'

उपाध्यक्ष पौडेलले नेपालमा पनि विस्तारै मानिसले पैसा बचत गर्ने प्रचलन सुुरु भएको र त्यसले अर्थतन्त्र सुधारको बाटोमा जाने विश्वास व्यक्त गरे। पहिला नयाँ घर, घडेरी र सवारी साधनमा खर्चिने पैसा अहिले बचत गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ।

उपाध्यक्ष पौडेलले अबको ५ वर्षमा केही सडक आयोजना निर्माण पूरा हुने र त्यसले पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए। कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउन सक्ने हो भने दीर्घकालीन रुपमा अर्थतन्त्रमा स्थायित्व हुने उहाँको धारणा छ।

प्रकाशित मिति: १८:०७ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्