Kathmandu Press

चाँगुनारायण नगर अस्पताल स्तरोन्नति एवं सेवा विस्तार गरिने

भक्तपुर, भदाै १८ : चाँगुनारायण नगरपालिका–४ चुच्चेढुंगास्थित स्वास्थ्य चौकीलाई नगर अस्पतालका रूपमा रुपान्तरण गरेको नगरपालिकाले अस्पताललाई स्तरोन्नति गर्नाका साथै सेवा पनि विस्तार गर्ने भएको...
चाँगुनारायण नगर अस्पताल स्तरोन्नति एवं सेवा विस्तार गरिने

भक्तपुर, भदाै १८ : चाँगुनारायण नगरपालिका–४ चुच्चेढुंगास्थित स्वास्थ्य चौकीलाई नगर अस्पतालका रूपमा रुपान्तरण गरेको नगरपालिकाले अस्पताललाई स्तरोन्नति गर्नाका साथै सेवा पनि विस्तार गर्ने भएको छ।

ग्रामीण क्षेत्रमा १५ शय्यामा सञ्चालित उक्त अस्पतालमा प्रभावकारी र गुणस्तरीय सेवा विस्तार गर्ने उद्देश्यले अस्पताल सञ्चालनका लागि नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा चाँगुनारायण नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएकोे हो।

Hardik ivf

अस्पतालसम्म पुग्ने उकालो सडक पक्की नुहुँदा निकै जोखिम रहेको, अस्पतालको एम्बुलेन्स लैजान पनि समस्या पर्ने सडकमा बिरामी ओसार्न समस्या हुने गरेको, चिकित्सकीय सेवा विस्तार हुन नसकेकाले स्थानीय बिरामी अस्पतालमा भर पर्न नसकेको गुनासो बढ्दै गएको अवस्थामा अस्पतालको सेवा, सुविधा र समस्या छानबिन गरी सात दिनभित्र यथार्थ वस्तुस्थितिसहितको प्रतिवेदन बुझाउन नगरपालिकाले निर्देशन दिएको छ। 

त्यसैगरि अस्पतालसम्म पुग्ने कच्ची सडक तत्काल पक्की गर्न, अस्पतालको आफ्नै खाता सञ्चालन गर्न, गुणस्तरीय सेवा सुविधा विस्तार गर्न  यहाँका बासिन्दालाई जटिल रोगबाहेक अन्य रोगको उपचारको व्यवस्था गर्न नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने र थप बजेट प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्ने गरी अस्पतालाई विस्तार गर्ने समितिले निर्णय गरेको नगरप्रमुख एवं समितिका अध्यक्ष खत्रीले जानकारी दिए। समितिका उपाध्यक्ष थापाको अध्यक्षतामा दैनिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

उक्त अस्पतालमा हाल २४सै घण्टा आकस्मिक, प्रसूति, ल्याब, ओपिडी, सामान्य शल्यक्रिया, बिमा फार्मेसी, खोप, परिवार नियोजन, एक्सरे, नाक, कान, घाँटी, किशोर–किशोरीमैत्री र आठ हप्तासम्मको गर्भपतन सेवाका साथै निःशुल्क औषधि वितरण, एम्बुलेन्स सञ्चालन हुँदै आएको छ।

आफ्नै अक्सिजन उत्पादन सुरु गरेको उक्त अस्पतालमा प्राविधिक सामग्रीहरूको विस्तार गर्दै भेन्टिलेटरसहितको आइसीयू, सिसीयू, आधुनिक ल्याबलगायतको व्यवस्था गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको नगरप्रमुख खत्रीले बताए।

अस्पताल सञ्चालन कार्यविधिअनुसार गठन भएको समितिको अध्यक्षमा नगरप्रमुख खत्री, वरिष्ठ उपाध्यक्षमा उपप्रमुख बुढाथोकी, उपाध्यक्षमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापा, जनप्रतिनिधि र कर्मचारी रहेको १६ सदस्यीय समिति गठन गरिएको  छ।

अस्पतालमा एक चिकित्सक, चार प्रशासन र अन्य नर्स गरी कूल २३ कर्मचारीले सेवा प्रवाह भइरहेको उक्त अस्पतालबाट आपतकालीन सेवा पूर्वतयारी, गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ  । 
 

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्