Kathmandu Press

‘बालेनको अभियानमा साथ दिन बेसमेन्टको व्यवसाय हटाएँ’

‘तपाईं हाम्रो सानो प्रयास र साथले नै म, हामी अनि हाम्रो काठमाडौं महानगर समृद्ध बन्न सन्नेछ।’
‘बालेनको अभियानमा साथ दिन बेसमेन्टको व्यवसाय हटाएँ’

काठमाडाैं, भदाै १७ : काठमाडौं महागरपालिकाका मेयर बालेन साह अहिले चर्चामा छन्। महानगरभित्र बनाइएका अनधिकृत संरचना र व्यावसायिक प्रयोजनका लागि बनाइएका घरको बेसमेन्ट खाली गर्ने अभियानले उनी चर्चामा आएका हुन्।

यही सन्दर्भको एउटा समाचार गत बुधबार चर्चामा रह्यो। सरमाचार थियो– बालेनले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएको।

रेस्टुरेन्ट सञ्चारक हुन्, सन्तोषकुमार थापा। बालेनलाई मेयर बनाउने अभियानमा सन्तोषसमेत सँगै थिए।

सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको त्यो समाचारबारे थुप्रै प्रतिक्रिया आएका छन्। रेस्टुरेन्ट खाली गर्दै बालेनको सकारात्मक अभियानमा साथ दिएको भन्दै धेरैले सन्तोषप्रति सहानुभूतिसहित प्रसंशा गरेका छन्। कतिपयले ‘आफ्नै साथीलाई पनि नछाडेको’ भनेर बालेनप्रति टिप्पणीसमेत गरेका छन्।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सञ्चालित सन्तोषको रेस्टुरेष्टमा कैयौंपटक बालेनलाई जिताउन छलफल भए, बालेनकै उपस्थितिमा । बेसमेन्टमा सञ्चालिन त्यही रेस्टुरेन्ट अहिले खाली गरिएको छ।

तर सन्तोष यसलाई सकारात्मक रुपमा लिन्छन्। रेस्टुरेन्ट खाली गरेपछि सन्तोषले समाचारको स्क्रिनसट सेयर पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखे– ‘ग्रेट न्युज फर हेटर्स। आजैबाट खाली गरेको छु, धन्यवाद।’

बिहीबार साँझ सन्तोषले फेरि लामो स्टाटस लेख्दै सन्तोषले सुन्दर काठमाडौैं बनाउने बालेनको सकारात्मक अभियानमा साथ दिन बेसमेन्टमा सञ्चालित रेस्टुरेन्ट खाली गरेको प्रस्टीकरण दिएका छन्।

‘आफ्नाे व्यापारिक समस्यालाई सहजताकासाथ स्वीकार गरेर व्यवसायको विकल्प खोज्ने प्रतिबद्धताका साथ बालेनको यो अभियान सफल बनाउन मैले पनि सहभागिता जनाउन पाएकोमा खुसी छु,’ सन्तोषले लेखेका छन्, ‘यो अभियान बीचमै नरोकिएर लक्ष्य अनुरूपअगाडि बढ्नेछ भन्ने आशा राख्छु ।’

महानगरको यो अभियानप्रति आफू जानकार रहेको उनले उल्लेख गरेका छन्। घरधनीले घरको निर्माण अनुमतिमा बेसमेन्ट मात्र रहेको र पार्किङ भनेर उल्लेख नगरेकाले व्यवसाय सञ्चालन गर्न पाउने ठानेर रेस्ष्टेन्ट चलाएको उनले बताएका छन्।

पार्किङका लागि बेसमेन्टको नक्सा पास नभए पनि बेसमेन्ट पार्किङ या स्टोर प्रयोजन मात्र प्रयोग हुन पाउने नगर प्रहरीको जानकारी पछि आफू सहजताका साथ बेसमेन्टमा रहेको रेस्टुरेन्ट खाली गरेको उनले बताएका छन्।

‘मेयर हुनुपूर्व बालेनको अभियानमा मैले पनि धेरथोर साथ दिने मौका पाएको थिएँ। महानगरलाई सुव्यवस्थित र समृद्ध बनाउन मैले पनि यस्ता सुधारात्मक अभियानमा साथ दिन जरुरी थियो। र, मेरो तर्फबाट त्यो सहजता पक्कै पनि हुन्थ्यो नै,’ सन्तोषले लेखेका छन्।

सन्तोषले तपाईं हाम्रो सानो प्रयास र साथले नै म, हामी अनि हाम्रो काठमाडौं महानगर समृद्ध बन्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्