Kathmandu Press

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री देउवा

काठमाडाैं, भदाै १६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व...
गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री देउवा

काठमाडाैं, भदाै १६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन।

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा आज कांग्रेस केन्द्रीय कार्यसमिति एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उनले गिरीको विचार र उनका कृतिलाई अध्ययन र अनुसरण गर्न सकेका खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले भने, 'गिरीको निधनले कांग्रेस पार्टी, नेपाललाई मात्रै नभई विश्व समाजवादी आन्दोलनलाई समेत अपूरणीय क्षति पुगेको छ। हामीले गिरीको कृति पढेर त्यसलाई अनुसरण गरेमा समाजवादी आन्दोलनलाई धेरै ठूलो सहयोग पुग्छ।'

Hardik ivf

समाजावादी मात्रै नभई दार्शनिक व्यक्तित्व भएको उल्लेख गर्दै उनले गिरीले लेखेका कृति र विचारलाई अनुसरण गर्न सकेका खण्डमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे। 'गिरी विद्धान व्यक्तित्व हुनुहुन्थ्यो, उहाँलाई थाहा नभएको विषय नै हुँदैनथ्यो। बिपी कोइरालापछि गिरी नै हो प्रजातान्त्रिक समाजवादप्रति गहिरो ज्ञान भएको व्यक्ति हो । उहाँको विषयमा जति वर्णन गरे पनि अपुरो हुन्छ,' प्रधानमन्त्री देउवाले भने।

गिरीले आफूलाई भारतका धेरै समाजवादी चिन्तकसँग परिचित गराएको प्रधानमन्त्री  देउवाले स्मरण गरे। उनले भने, उनले भने, गिरीको संसद्मा केही कुरा राख्ने चाहना थियो तर त्यो राख्न पाउनुभएन। उहाँ अत्यन्तै भर्साटाइल व्यक्ति हुनुहुन्थ्यो। उहाँमा धेरै विषयको ज्ञान थियो, किताबप्रेमी, किताब पल्टाएपछि पूरै नपढी नछोड्ने बानी थियो।' प्रधानमन्त्री देउवाले गिरीले लेखेका पुस्तक र विचारलाई पार्टीले देशभर पुर्‍याएर समाजवादी चेतना अभिवृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गरे। निष्ठावान्, त्यागी नेता, समाजवादी चिन्तक,  कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट देशले ठूलो प्रजातान्त्रिक समाजवादका विचारक गुमाएको बताए। सत्तालाई कहिल्यै राजनीतिक स्वार्थका रुपमा नलिने गिरी आफू सत्तामा नरहे पनि देशमा सुशासन, नवनिर्माण र उन्नतिमा गहिरो चिन्तन राख्ने व्यक्ति भएको उनले उल्लेख गरे। महामन्त्री गगनकुमार थापाले गिरीको निधनले पार्टी तथा देशलाई अपूरणीय क्षति पुगेको भन्दै उनको दर्शन, विचारलाई जीवन्त राख्न विशेष ध्यान दिनुपर्ने औँल्याए। उनले भने, 'गिरी चिन्तित हुनुहुन्थ्यो प्रजातन्त्र फगत औपचारिकता मात्र भयो। राजनीतिक दल रुपान्तरणका माध्यम भएनन्, सत्ता प्राप्तिका औजार मात्र भए । राजनीतिक दलका कार्यकर्तामा ज्ञानको भोक, परिवर्तनको भोक हुनुपर्नेमा सत्ताको भोकमात्रै भएकामा प्रदीप गिरीको चिन्ता थियो।'

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले गिरीको निधन कांग्रेस पार्टीका लागि मात्र नभई नेपालकै लागि क्षति भएको भन्दै उनको अभावलाई खड्किन नदिन गिरीको विचारलाई अनुसरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले समाजवादी चिन्तनलाई विचारधारा दिने चर्चित गिरी बिपी कोइरालापछि माक्र्सवादी, प्रजातान्त्रिक समाजवादी विचारधाराको व्याख्या गर्नसक्ने व्यक्ति भएकाे बताए।

कांग्रेसका नेता प्रकाशमान सिंहले गिरीको निधनले राष्ट्रिय राजनीतिलाई नै क्षति पुगेको  बताए। गिरीको विचारलाई आत्मसात गरेर अघि बढेमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास नेता सिंहले व्यक्त गरे।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गिरीको निधनले पार्टी मात्र नभई देशलाई नै ठूलो क्षति पुगेको भन्दै उनको अभावलाई खड्कन नदिन गिरीको विचार र दर्शनलाई अनुसरण गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्